पोखरा- नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले स्वर्णका लागि लामो अभ्यास मात्र गरेनन्, फाइनल खेलमा मिहिनेत र उत्कृष्ट रणनीति अपनाएर दौडिए।
यससँगै दीपकेले कीर्तिमानसहित स्वर्ण पदक जिते। उनले पोखरा रंगशालामा आइतबार बिहान १० हजार मिटर दूरी ३० मिनेट १०.३० सेकेन्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन्।
‘दौडिँदा रेकर्ड तोड्छु, नयाँ रकर्ड कायम गर्छु भन्ने थियो। यसका लागि मैले धेरै मिहिनेत गरेको थिएँ,’ खेलपछि दीपकले भने। त्यसो त, २७ वर्षीय दीपक आइतबार मात्रै राष्ट्रिय खेलकुदमा डेब्यु गर्दै थिए। उनले धेरै नाम सुनेका गोपीचन्द्र पार्की पनि प्रतिस्पर्धामै थिए।
‘आज टप प्रतिपस्र्धा नै थियो। दक्षिण एसियाली खेलकुदमा गोल्ड जितेका गोपीचन्द्र पार्की धेरै उत्कृष्ट खेलाडी हुन्। उनीसँग प्रतिस्पर्धा गाह्रो हुन्छ भन्ने थियो। उहाँको अभ्यास पनि राम्रो भएको थियो,’ उनले प्रतियोगिताबारे लागेको कुरा सुनाए।
दीपकलाई डर थियो, केही बिग्रिएला कि भन्ने। त्यसैले उनले खेलमा आफ्नै रणनीति बनाए अनि दौडिए। ‘टप प्रतिद्वन्द्वी भए पनि अघि बढेर जित निकालेको हुँ। दौडको उद्देश्य अर्को प्रतिद्वन्द्वीलाई पछि पारेर जित्नु नै हो। मैले त्यही गरें। सबै खेलाडी पहिलो हुन्छु भनेर आउँछन्। म पनि राम्रो गर्छु भनेर मैदानमा उत्रिएको हो। ‘स्टामिना’ले भ्याएसम्म बल लगाएर तान्ने भन्ने नै हो, जुन मैले गरें,’ उनले भने।
दीपकलाई थाहा थियो, सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १०.९९ सेकेन्डमा १० हजार मिटर दूरी पार गर्दै एपीएफका धावक पार्कीले कीर्तिमान बनाएका थिए। त्यो रेकर्ड तोड्न खुबै मिहिनेत गरेको बताउँछन्, उनी । गोपीले भने ३० मिनेट ३८ दशमलव ३८ सेकेन्डमा निर्धारित दूरी पार गरे।
खेलमा पनि उनी सुरुको १५ ल्याबबाट केही पछि थिए त्यसपछि उनले गति बढाए। ‘मैले सबै चरणमा लिड गर्दै गएँ। म आफैंमा आत्मविश्वास थियो, अघि जाने,’ उनले अगाडि भने।
प्रतियोगितामा स्वर्ण जितेपछि उनले जसरी जितोत्सव मनाएका छन्। त्यसले पनि उनको उपाधि भोकबारे प्रस्ट हुन्छ। दौड सकेपछि पनि उनी लामो सास तानेर कराइरहेका थिए। त्यो जितमा उनको मात्र योगदान छैन।
‘मैले राष्ट्रिय खेलकुदमा डेब्यु गर्दै थिएँ। डेब्युमै कीर्तिमानसहित स्वर्ण जित्नु सपनाको कुरा हो, त्यो पुरा भएको छ,’ दुई हात उठाएर सेलिब्रेसन शैलीमा उनले भनेका छन्, ‘यसका लागि धेरै समस्या थिए।’
जितपछि उनी आफ्नो परिवार र प्रशिक्षकलाई पनि सम्झन्छन्। ‘मेरो परिवारमा हजुरआमा, बाबुआमा, दाइ, दिदी र ठूलोबाबा पनि हुनुहुन्छ। ठूलाबाबु नेपाली ओलम्पियन हरि रोकायासँगै रनिङ गरेका खेलाडी हुन्,’ उनले भनेका छन्, ‘यो ठाउँसम्म मलाई ल्याउने गुरु हुनुहुन्छ, उहाँहरूलाई सम्मान गर्छु। उहाँहरूले गर्दा म यहाँसम्म आइपुगेको हो।’
आर्मीले बनाएको खेलाडी दीपक
दीपक सानैदेखि खेलकुदमा लागेका होइनन्। उनको जीवन सामान्य रुपमै बित्यो। उनलाई सानैबाट आर्मी पेसा खुबै मन पथ्र्यो। सानैबाट सुरक्षाकर्मी हुने हुटहुटी बोकेका उनी आर्मी नै बने। त्यसपछि उनले खेलकुद रोजे।
‘मैले आर्मीमा आएपछि मात्र दौडिन सुरु गरेको हो। त्यसअघि मैले कुनै प्रतियोगितामा खेलेको छैन। त्यहाँ आएपछि खेलेको हो,’ उनले आफ्नो विभागीय यात्राबारे सुनाए। नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबले प्रधान सेनापति ट्रफी आयोजना गर्दछ। २०७५ मा दीपले पनि भाग लिए।
भाग मात्र लिएनन्, उनले उपाधि नै जिते। ‘२०७५ मा मैले आर्मीमै भएको प्रतियोगिताको १५ सय मिटर दौडिएको थिएँ। त्यहाँको समय राम्रो थियो। त्यसपछि राजेन्द्र भण्डारी सरले त्रिभुवन क्लबमा बेलाउनुभएको थियो,’ उनले खेलकुदमा स्थापित हुँदै गरेको क्षणबारे भनेका छन्।
त्यसपछि उनी आर्मीको नियमित अभ्यास गर्ने खेलाडीमा पर्न थाले। त्यति मात्र होइन, उनले अर्को वर्ष राष्ट्रिय टिमबाटै खेले। ‘पछि दक्षिण एसियाली खेलकुद पनि खेलेर कास्य पदक जितेको थिएँ। १० हजार मिटरमा तेस्रो भएको थिएँ। त्यो खेलमा ३० मिनेट ५० सेकेन्डको समय थियो।’
यस हिसाबले आइतबार उनको ‘बेस्ट’ समय सावित भयो। दीपकले यसअघि लुम्बिनी च्याम्पियनसिप पनि खेलेका थिए। त्यहाँ उनी तेस्रो भए। मध्यम दूरीमा प्रतिस्पर्धा गरिरहेका उनले १० हजार मिटरमा धेरै खेल खेलेका थिएनन्। ‘मैले १० हजार मिटरमा राष्ट्रिय स्तरमा धेरै खेलेको छैन। यसअघि मैले एसियाली खेलकुदको छनोट खेलेको हो। अहिले राष्ट्रिय खेलकुद,’ उनले भने।
स्वर्ण जितेपछि फेरि एक पटक दीपकले आर्मी क्लबमा कसरी खेलाडी आबद्ध भइरहेका छन् भन्ने विषयमा सोचे। ‘आर्मीमा खेलेपछि मैले त्यसलाई निरन्तरता दिइरहेको छु। तर आर्मीमा लाग्नुको कारण खेलकुद भने थिएन,’ उनले भने ।
धेरै मानिस खेलबाट आर्मी क्लबमा अनुबन्ध भएका छन्। तर उनी त्यसरी आएका होइनन्। ‘मलाई सानैबाट आर्मी मन पथ्र्यो। पछि खेलकुदमा लागेँ,’ उनले भने। यदि आर्मी नभए उनी खेलाडी बन्दैनथे होला।