बिहीबार, माघ ३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

चितवन–१ : ह्याट्रिक गर्ने दाउमा पाण्डे, गठबन्धनको भरमा पौडेल

राष्ट्रिय योजना आयोगबाट राजीनामा दिएर पहिलोपटक संसदीय निर्वाचनमा होमिएका पौडेलको ध्येय पहिलो प्रयासमै जित निकाल्नु छ भने यही क्षेत्रबाट दुई पटकसम्म चुनाव लडेर अर्थमन्त्री भइसकेका पाण्डे ‘ह्याट्रिक’ गर्ने दाउमा छन्।
 |  शनिबार, असोज २९, २०७९

निशा श्रेष्ठ

निशा श्रेष्ठ

शनिबार, असोज २९, २०७९

ntc landingntc landing

भरतपुर– आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवनको क्षेत्र नम्बर १ मा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका डा. विश्व पौडेल र नेकपा एमालेका उपाध्यक्ष समेत रहेका सुरेन्द्र पाण्डे दुवै यसपालिको निर्वाचनमा नयाँ रेकर्ड बनाउने दाउमा छन्। 

himalayan bank box

राष्ट्रिय योजना आयोगबाट राजीनामा दिएर पहिलोपटक संसदीय निर्वाचनमा होमिएका पौडेलको ध्येय पहिलो प्रयासमै जित निकाल्नु छ भने यही क्षेत्रबाट दुई पटकसम्म चुनाव लडेर अर्थमन्त्री भइसकेका पाण्डे ‘ह्याट्रिक’ गर्ने दाउमा छन्। अर्थशास्त्र र अर्थतन्त्रका विज्ञको रुपमा चिनिएका यी दुई प्रतिस्पर्धीबीचको यो पटकको चुनावी लडाइँ थप रोचक हुने देखिएको छ। सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दिएका पौडेललाई जित निकाल्न गठबन्धनको भर छ। तर  गठबन्धनविरुद्ध कांग्रेसकै पुराना नेता राजेन्द्र बुर्लाकोटीले बागी उम्मेदवारी दिएपछि मत काटिने डर पनि उत्तिकै छँदैछ।  

यता २०७४ मा बाम गठबन्धनबाट सहज जित निकालेका सुरेन्द्र पाण्डेलाई गठबन्धनसँगको टकराव अहिले उत्तिकै चु्नौतीपूर्ण छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा चितवन –१ मा रहेका तीन पालिकाको नेतृत्वमा गठबन्धनले बाजी मारेपछि पाण्डेलाई यो पालि सहज जित निकाल्न गाह्रो देखिएको हो। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार रहेका पाण्डेले कांग्रेसका राजेन्द्र बुर्लाकोटीलाई १५ हजार ७२० मतान्तरले पराजित गरेका थिए। पाण्डेले ५१ हजार ८० मत पाउँदा बुर्लाकोटीले ३५ हजार ३६० मत पाएका थिए।

चितवन-१ मा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डे।
२०६४ सालको संविधानसभा चुनावमा उक्त क्षेत्रबाट एमालेका लालमणि चौधरी विजयी भएका थिए। चितवन १ बाट वामपन्थी नेता जागृतप्रसाद भेटवालले २०४८ र २०५१ सालमा चुनाव जितेका थिए। कांग्रेसकी सावित्री बोगटीले २०५६ को चुनाव जितेको इतिहास छ। विगतको इतिहास हेर्दा चितवन १ कम्युनिस्ट पार्टीको बलियो पकड भएको क्षेत्र भए पनि गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको नतिजालाई हेर्ने हो भने चितवन–१ का तीनवटै पालिकाको नेतृत्व सत्तारुढ गठबन्धन दलकै हातमा पुगेको छ। चितवनको रत्ननगर र खैरहनीमा कांग्रेस र राप्तीमा नेकपा एकीकृत समाजवादीले नेतृत्व गरिराखेको छ।

रत्नगरमा गत स्थानीय निर्वाचनमा कांग्रेसका प्रल्हाद सापकोटाले एमालेकी बिमला देवी दुवाडीलाई पराजित गरेका थिए। प्रल्हादले २० हजार ७९६ मत ल्याउँदा दुवाडीले १२ हजार ७२८ मत ल्याएकी थिइन्। यस्तै खैरहनी नगरपालिकामा पनि कांग्रेसका शशी कुमार खनियाँले एमालेका लालमणि चौधरीलाई पराजित गरेका थिए। खनियाले १४ हजार ५४५ मत ल्याउँदा चौधरीले १३ हजार ६९५ मत ल्याएका थिए। उता राप्ती नगरपालिकामा नेकपा एकीकृत समाजवादीका शमशेर लामाले एमालेका गोविन्द प्रसाद कँडेललाई पराजित गर्दै जित निकालेका थिए। लामाले १२ हजार ५२४ मत ल्याउँदा कँडेलले १२०५९ मत ल्याएका थिए।

चितवन-१ मा कांग्रेसका उम्मेदवार विश्व पौडेल।
गत स्थानीय निर्वाचनमा यी तीन पालिकामा एमाले एक्लै र सत्तारुढ गठबन्धनबीच प्रतिस्पर्धा भएको थियो। वडागत हिसाबले हेर्दा चितवनको रत्ननगरका १६ वडामध्ये ९ मा कांग्रेस, ५ एमाले, १ माओवादी र एकमा स्वतन्त्रले जितेका छन्। खैरहनीका १३ वडामध्ये ७ एमाले र ६ वटा कांग्रेसले जितेका थिए। यस्तै राप्ती नगरपालिकामा ८ एमाले, ३ कांग्रेस १ नेकपा एस र १ स्वतन्त्रले जितेका छन्। यसरी हेर्दा चितवन –१ भित्र पर्ने ४२ वडामध्ये १८ कांग्रेस, २० एमाले, १ माओवादी, २  स्वतन्त्र २ र १ वडामा नेकपा एकीकृतले जितेका थिए। 

यस्तै यी तीन पालिकाको वडाध्यक्षको मतलाई हेर्दा राप्तीमा एमाले र खैरहनी र रत्ननगरमा कांग्रेस अगाडि  देखिन्छ। राप्तीमा एमालेका वडाध्यक्षको मत र गठबन्धनको भन्दा एक हजार एक सय ३३ ले बढी छ। एमालेका वडाध्यक्षहरुको मत १२ हजार ९७८ छ भने गठबन्धनको ११ हजार ८४५ रहेको छ।

खैरहनीमा भने गठबन्धनको मत एमालेभन्दा ३४१ मतले गठबन्धन अगाडि छ। गठबन्धनका वडाध्यक्षले १३ हजार ७८८ मत पाउँदा एमालेले १३ हजार ४४७ मत पाएको छ। यता रत्ननगरमा भने वडाध्यक्षको मत हेर्दा गठबन्धनको भन्दा एमाले कमजोर देखिन्छ। गठबन्धनका वडाध्यक्षले २० हजार ७८५ मत पाउँदा एमालेका वडाध्यक्षले  १३ हजार १८१ मत मात्रै पाएका छन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पौडेल गत स्थानीय निर्वाचनले नै यो क्षेत्रमा नयाँ अनुहारले जित्ने छनक दिइसकेको दाबी गर्छन्। उनले एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेलाई १० वर्षसम्म जनताले परीक्षणको मौका दिए पनि ‘पर्फमेन्स’ राम्रो नभएकै कारण यो पटक जनताले आफूलाई जिताउने उनले दाबी गरे। ‘१० वर्षसम्म गरेको कामको जनताले मूल्यांकन गरेका छन्। उहाँले पटक–पटक जितेर के नै नयाँ कुरा गर्नुभयो र? मैले गएको एक वर्षमा योजना आयोगमा हुँदा गरेको कामको मूल्यांकन जनताले पक्कै गर्नुहुनेछ र भविष्य हेरेर पनि उहाँहरुले जिताउनुहुनेछ,’ उनले भने।

नेकपा एमालेका उम्मेदवार पाण्डेले भने जनताले आफ्नो पहलमा विकास निर्माणका काम धेरै भएका र अधूरो तथा अपूरो कामहरु फेरि पूरा गर्न जनताले जिताउने दाबी गरे। ‘यो क्षेत्रमा विकास निर्माणका काम धेरै भएका छन् अब केही अपूरा कामहरु पूरा गर्ने मेरो एजेन्डा छ। हिजो म चुनाव लड्दा सानो टुक्रा हाइवेको वरिपरी पनि पिच थिएन। अब अधिकांश ठाउँमा बाटो कालोपत्रे भएको छ। अब सानो सानो बाटोको कामबाहेक गेमचेन्जर ठूला परियोजना पूरा गर्नुपर्नेछ,’ उनले भने।  

कांग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटी।
कांग्रेसका बागी बुर्लाकोटीले गठबन्धनको मत काट्दा आफूहरुलाई फाइदा पुग्ने पनि उनको आकलन छ। ‘गठबन्धनले हामीलाई  असर गर्ने सम्भावना छैन। नेकपा एमाले विजय हासिल गर्न दह्रो आत्मविश्वासका साथ अगाडि बढेको छ,’ उनले भने, ‘नेपाली कांग्रेसभित्र पनि व्यापाक असन्तुष्टि छन्। एमाले मात्रै नभएर कांग्रेसकै मतदाताले पनि तपाईँ आउनुपर्छ भन्ने कुरा आएको छ। एमालेले जित्ने कुरामा सन्देह छैन,’ उनले भने। उनले जनताले नयाँ उम्मेदवारलाई चुनेर पटकपटक परीक्षण गर्नुभन्दा पनि सक्षम र योग्य उम्मेदवारलाई चुन्नेमा विश्वस्त रहेको उल्लेख गरे। सत्ता गठबन्धनका उम्मेदवार पौडेलप्रति लक्षित गर्दै उनले भने, ‘पहिलोपटक नयाँ कोही उठ्यो भन्दैमा जित्छ भन्ने छैन। जनताले परिवर्तन होस् भन्ने चाहन्छन्। जनता परीक्षणको थलो मात्रै होइन,’ उनी भन्छन्। 

यता सत्ता गठबन्धनका उम्मेदवार पौडेल भने बागी उम्मेदवारले आफूलाई फरक नपर्ने बताउँछन्। ‘हाम्रो पार्टीमा सुरुवाती चरणमा केही असन्तुष्टि देखिए पनि काम गर्दै अगाडि बढ्दै जाँदा उहाँको पनि उचित व्यवस्थापन गर्ने कोसिस गर्नेछौं। नभए पनि प्रतिनिधिसभाको गठबन्धनको आधिकारीक उम्मेदवार म नै हुँ। जनताले रुख चिन्हमा भोट हालेर मलाई जिताउनेछन्,’ उनले भने।

प्रकाशित: Oct 15, 2022| 19:27 शनिबार, असोज २९, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।