काठमाडौं– टीकापुर हत्याकाण्डको प्रमुख अभियुक्तको आरोप लागेका रेशम चौधरी जेलभित्रैबाट चुनाव लड्ने भएका छन्। बर्दिया क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा उनको उम्मेदवारी दर्ता भएको छ।
श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट रेशम चुनाव लड्न लागेका हुन्। आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुबा लालवीरले रेशमको उम्मेदवारी दर्ता गराएका हुन्। लालवीरसँगै रेशमका फुपा झग्गुप्रसाद चौधरी मनोनयन दर्ताका लागि आयोगको कार्यालयमा पुगेका थिए। झग्गु उन्मुक्ति पार्टीका कार्यकर्तासमेत रहेकाले रेशमको प्रतिनिधिका रुपमा उनी बसेका छन्।
थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते भएको ‘टीकापुर घटना’मा आठ सुरक्षाकर्मीसहित एक नाबालकको हत्या भएको थियो। उक्त हत्याको अभियोग प्रमाणित भएपछि चौधरी डिल्लीबजारस्थित कारागारमा छन्। उनलाई टीकापुर हत्याकाण्डको मुख्य योजनाकार रहेको आरोप छ।
२०७४ को आम निर्वाचनमा उनी भूमिगत हुँदै कैलाली १ बाट राजपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। रेशमले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मदनकुमारी शाहलाई २० हजार ९३५ को मतान्तरले हराएका थिए। सांसद निर्वाचित भएपछि २०७४ फागुन १४ गते उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरी जेलमै हुँदा २०७५ पुसमा संसद्को शपथ लिएर कारागार फर्किएका थिए। तर २०७५ फागुनमा जिल्ला न्यायधीश पर्शुराम भट्टराईको इजलासले रेशमसहित ११ जनालाई टीकापुर घटनामा दोषी करार गर्दै जन्मकैदको फैसला गरेपछि उनलाई सांसदबाट निलम्बन गरिएको थियो।