काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मंसिर ४ गते हुन लागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन्। तनहुँको दमौलीमा मनोनयन दर्ता गराउने क्रममा आयोजित सभालाई छोटो सम्बोधन गर्दै नेता पौडेलले आगामी निर्वाचन प्रतिगामी अधिनायकवादलाई रोकेर देशलाई अग्रगमनतर्फ लैजाने अभियान भएको बताए।
उनले भने, 'यो निर्वाचन सामान्य निर्वाचन होइन। प्रतिगामी अधिनायकवादलाई रोकेर देशलाई अग्रगमनतर्फ लैजाने कि देशलाई फेरि प्रतिगामी र अधिनायवादी बाटोमा होम्ने भन्ने जनमतसंग्रह पनि हो।' पौडेलले आफूहरु संविधान जोगाउने, जनतामा आशा जगाउने अभियानमा लगेको बताउँदै भ्रष्टाचार विकृति, विसंगतिलाई हटाएर आमनागरिकमा आशा संचार दिन चाहेको बताए।
पौडेलले मुलुकमा यति ठूलो परिवर्तन र यति धेरै अधिकार प्राप्त संविधान पाउँदा पनि नेपाली किन सन्तुष्ट हुन सकिरहेका छैनन् भन्ने उत्तरको खोजीमा आफू रहेको बताए। उनले भने, ‘जनता सन्तुष्ट हुन नसक्नुको एउटै कारण भनेको भ्रष्टाचार, विकृति हो। म त्यो भ्रष्टाचारको उन्मूलन गरेर जनतामा आशा जगाउने छु। मैले यही प्रण गरेको छु।’
पौडेलले गाउँमा सबै विकासका पूर्वाधार बनाउँदा पनि गाउँमा नै बस्ने वातावरण अझै बन्न नसकेको बताए। उनले भने, ‘२०४८ सालमा यही विचारी चौतारामा उभिएर बोलेको थिएँ। विकासलाई गाउँ गाउँमा पुर्याएर गाउँमा नै बसौं बसौं बनाउन चाहन्छौं भनेको थिएँ। तर विकासले मात्र गाउँमा मन फर्काउन नसकिने रहेछ। गाउँ बसौं बसौं बनाउनका लागि आम्दानी र रोजगारी गाउँमै पुर्याउन आवश्यक रहेछ।’