काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व केन्द्रीय सदस्य किरण पौडेलले पार्टी परित्याग गरेका छन्। नेविसंघका पूर्व महामन्त्री समेत रहेका देउवा निकट नेता पौडेलले बागलुङ लगायत देशभरकै सिट बाँडफाँटमा असहमति जनाउँदै पार्टी त्यागेको घोषणा गरेका हुन्।
सभापति देउवालाई सम्बोधन गर्दै उनले दिएको राजीनामामा तीन पटकसम्म आफूलाई संसदीय अभ्यास गर्ने अवसरबाट बन्चित गरिएको भन्दै आफूजस्तै नेविसंघबाट आएका साथीहरुलाई तेजोबध गरिएको जनाएका छन्। २०३५ सालदेखि नै राजनीतिमा लागेका पौडेलले ४४ वर्ष लामो कांग्रेससँगको आबद्धता परित्याग गरेका हुन्। बागलुङ–१ मा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी उम्मेदवार बनेका छन्।
एमालेबाट सूर्य पाठक उम्मेदवार छन् भने केही समयअघि कांग्रेस छाडेका नवराज पौडेलले प्रदेशमा टिकट पाएका छन्।
यस्तो छ पौडेलको राजीनामापत्र
श्रीमान् सभापतिज्यू,
नेपाली कांग्रेस, केन्द्रीय समिति
मार्फतः मुख्यसचिवज्यू,
नेपाली कांग्रेस, केन्द्रीय कार्यालय
सानेपा, ललितपुर
विषयः राजीनामा दिएको बारे
नेपाली कांग्रेस पार्टीले उम्मेदवार सिफारिस र छनौट गर्दा अपनाएको सिद्धान्त,विधी, पद्धति र प्रक्रियाको कुनै पनि मापदण्डमा मेरो नाम अटाउन सकेन। मैले संसदीय राजनीतिको अभ्यास गर्ने स्थान खोजेको र अन्तिम अबस्थामा बाहिरिन पुगेको यो तेश्रो पटक हो। यस पटक न्यायोचित निर्णय आऊने आशामा थिए,आएन। नेबिसंघको राजनीतिक पृष्ठभूमि बाट संलग्न हुँदै कांग्रेस पार्टी संगठनको हितका लागी जीवन समर्पण गरेका म जस्ता साथीहरूलाई तेजोबध गरिएको महसूस भएको छ। निश्चित व्यक्तिहरुको मात्रै गोटी बनेका हरू मात्रै योग्य हुने परिपाटी आफुलाई सदैव अस्वीकार्य छ र रहने छ। मैले आज नेपाली कांग्रेस पार्टीको सदस्य समेत नरहने गरी पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब मार्फ़त हजुर श्री शेर बहादुर देउवा समक्ष राजिनामा पेश गरेको छु।
म २०३५र३६ सालको बिध्यार्थी आन्दोलनमा सक्रिय भएको बेला देखि हाल सम्म ४४ बर्ष निरन्तर इमान्दारीता पूर्वक पार्टीको आमन्त्रित केन्द्रीय सदस्य सम्म भई काम गरें। नेपाली कांग्रेस पार्टीको विभिन्न तह र स्थानमा पुर्र्याउनु हुने र ४४ बर्ष सम्म अनबरत साथ दिनुहुने सम्पूर्ण पार्टी पङती लाई हार्दिक धन्यवाद दिन चाहान्छु। जयनेपाल १
किरण पौडेल
निबर्तमान आमन्त्रित केन्द्रीय सदस्य
नेपाली काँग्रेस,केन्द्रीय समिति
मितिस्२०७९र०६र२३