काठमाडौं– सामाजिक अभियन्ता जगन्नाथ लामिछानेले बागमती प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले काठमाडौं क्षेत्र नम्बर ५ (ख) बाट उम्मेदवारी दिन लागेका हुन्।
‘सशक्त प्रदेश, समृद्ध देश’ नारासहित उम्मेदवारी दिन लागेका लामिछानेले आफ्ना दुई राजनीतिक उद्देश्य पूरा गर्न चुनावी मैदान उत्रिएको बताएका छन्। स्थिरताका लागि संविधानको इमान्दारितापूर्ण कार्यान्वयन र प्रदेशलाई सामाजिक‚ आर्थिक विकासको केन्द्रको रुपमा स्थापित गर्न आफूले उम्मेदवारी दिन लागेको उनले स्पष्ट पारेका छन्।
नयाँ संविधान लागू गरिसकेपछि राजनीतिक नेतृत्व देशको आर्थिक तथा सामाजिक विकासमा एक भएर लाग्नुपर्नेमा दलहरु आफैंले बनाएको संविधानमै दोष देखाएर व्यवस्थालाई कमजोर बनाउने तर आफूहरु सत्तामै रहिरहने दाउमा सक्रिय रहेको उनको आरोप छ।
त्यसैले संघीयताको स्थायित्व र देश विकासका लागि नयाँ सोच‚ विचार र नेतृत्व आवश्यक रहेको उनले बताएका छन्। उनले आफ्नो घोषणापत्रमा भनेका छन्‚ ‘यो देश बिग्रेको, हाम्रा सडकहरू खत्तम भएको, देशमा आर्थिक अवसर सिर्जना नभएको, हाम्रो शिक्षा स्वास्थ्यको गुणस्तर खस्केको हामी गरीब भएर होइन। नेतृत्व गैरजिम्मेवार भएर देश खत्तम हुँदै गएको हो।’