काठमाडौं– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र आज दर्ता भइरहेको छ।
उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकेको छ। प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरिनेछ।
उम्मेदवारी दर्ता गराउन जाँदा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने, बाजागाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहिता छ।
सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।
यसका लागि आयोगले आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइसकेको जनाएको छ। आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले वारेसनामा वा प्रतिनिधिका माध्यमबाट पनि मनोनयनपत्र दर्ता गराउन सक्ने भएकाले त्यसका लागि आधिकारिक पत्र, वारेसनामा र निस्साजस्ता कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपलब्धसम्म गराएर दल र उम्मेदवारलाई सहजीकरण गर्न आयोग तत्पर रहेको बताए। उनले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, लिंग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरेका छन्।
आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेसमेत असोज २३ गते नै साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म, मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपराह्न ३ देखि २५ गते साँझ ५ बजेसम्म रहेको छ।
यसैगरी उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न २६ गते अपराह्न ४ देखि साँझ ७ बजेसम्म र मतदान आगामी मङ्सिर ४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ।
यस निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता सङ्ख्या रहेका छन्। यसमा पुरुष मतदाताको सङ्ख्या ९१ लाख ४० हजार आठ सय ६, महिला मतदाताको सङ्ख्या ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य एक सय ८५ रहेका छन्। निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ।
निर्वाचनका लागि आयोगले यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी एक सय ६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ।
आयोगले निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची प्रकाशन गरेको छ। निर्वाचन तालिकाअनुसार बन्दसूची प्रकाशन गर्ने समय असोज २२ गते साँझ ५ देखि ७ बजेसम्म निर्धारण गरिए पनि असोज २३ गते बिहानमात्र बन्दसूची प्रकाशन गरिएको हो।
के-के चाहिन्छ उम्मेदवारी दिन?
१) उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि।
२) प्रतिनिधिसभाको सदस्य उम्मेदवारको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य उम्मेदवारको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा।
३) उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा।
४) उम्मेदवार हुने व्यक्तिले आफ्नो तर्फबाट निर्वाचन प्रतिनिधि तोकी उम्मेदवारी मनोनयन गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २) सँग सम्बन्धित अनुसूची– ११ बमोजिमका प्रतिनिधि मुकरर गरेको फारम।
५) प्रचलित कानून बमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम र प्रदेशसभा सदस्यको लागि प्रदेश सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरेर विवरण भरी सहीछाप गरेको मनोनयन पत्र।
६) दलको तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची –७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र, तर एकल चुनाव चिन्ह लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र।
७) प्रतिनिधि सभा सदस्यका उम्मेदवारका लागि १० हजार र प्रदेशसभा सदस्य उम्मेदवार हुनका लागि पाँच हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर, तर महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुनेछ। आर्थिक रूपले विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रुपमा विपन्न भनी सिफारिस गरेको पत्र।
८) उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ सँग सम्बन्धित अनुसूची–६ बमोजिमको स्वघोषणा पत्र।
९) उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ सँग सम्बन्धित अनुसूची–९ बमोजिमको ढाँचामा आफ्नो चल, अचल सम्पत्ति, बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, शेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलवन्दी रूपमा पेश गरेको सम्पत्ति विवरण।
१०) उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १० सँग सम्बन्धित अनुसूची– १० बमोजिम आफू प्रचलित नियम कानुनअनुसार उम्मेदवार हुन योग्य भनि भरिएको वैयक्तिक विवरण फारम।
११) उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनित वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेश्की लिएको भए सो पेश्की फछ्र्यौट भएको व्यहोराको निस्सा।
१२) लेखापरीक्षणबाट कुनैपनि उम्मेदवारको नाममा किटानीसाथ असूल उपर गर्नु पर्ने भनी कायम भएको बेरुजु भए सो बेरुजु फर्छ्योट गरेको निस्सा।
१३) निर्वाचन आचारसंहिता, २०७९ को अनुसूची–३ बमोजिमको प्रतिवद्धतापत्र।
उम्मेदवार टुंगिनै बाँकी
उम्मेदवारी दर्ता सुरु भइसक्दा पनि कतिपय ठूला दलले उम्मेदवार टुंगो लगाउन सकेका छैनन्। खासगरी सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादीका केही क्षेत्रमा उम्मेदवार टुंगो लगाउन सकेका छैनन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने उम्मेदवार टुंग्याइसकेको छ। उसले पनि जसपा र राप्रपासँग तालमेल गरेको छ।