काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई पाखा लगाउँदै उनको निर्वाचन क्षेत्र अछाम-१ मा झपट बोहरालाई उम्मेदवार बनाएका छन्।
नेकपा एमाले अध्यक्ष ओली निकट नेताका अनुसार भीम रावलले लगातार पार्टी र नेतृत्वविरुद्ध उभिएका कारण उक्त क्षेत्रमा बोहरालाई उम्मेदवार बनाउन लागिएको हो। नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज छन्। अध्यक्ष केपी शर्मा ओलीले तीनै बोहोरालाई उम्मेदवार बनाउने निर्णय सुनाएका हुन्।
एमालेले टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिएको छ। त्यसै अनुसार, ओलीले टिकट वितरण गरिरहेका छन्।
अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको थियो। दशबुँदे गरी एमालेमै बसेका रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन्।
उनले गत वर्ष मंसिरमा सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग प्रतिश्पर्धा गरेका थिए। सुदूरपश्चिमकै उच्च तहका नेता रावललाई जिल्ला कमिटीले गएको २९ भदौमा प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि एकल सिफारिस गरेको थियो।
तर, सुदूरपश्चिमा एमाले नेता कर्णबहादुर थापालगायतले पनि भीम रावललाई उम्मेदवार नबनाउन व्यापक दबाब दिएका थिए। ओलीले अछाम–२ बाट यज्ञ बोगटीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएका छन्। बोगटीको नाम पनि एकल रुपमा सिफारिस भएको थियो।