काठमाडौं - लामो रस्साकस्सीबीच सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन नपाउँदै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भड्कीएका छन्। पाँच दलबीच सहमति भएका भन्दै सार्वजनिक भए अनुसार गठबन्धनमा जसपालाई १७-१८ सिट दिने सहमति भएको थियो। तर, उपेन्द्र यादवले भने गठबन्धनको सिट बाँडफाँटका सम्मानजनक सिट नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकतम १७/१८ सिट जसपाले पाउने देखिएको छ भने प्रदेशमा मधेश प्रदेशमा कुल ६४ निर्वाचन क्षेत्रको झण्डै आधा र अरुमा एकाध सिट मात्र पाउने सम्भावना छ। यसरी गठबन्धनमा आफूलाई न्याय नभएको निष्कर्ष निकाल्दै गत शनिबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकले तालमेलका लागि गठबन्धनबाहिर पनि पहल गर्ने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार जसपा अध्यक्षले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको संवादलाई अघि बढाएका हुन्। जसपा अध्यक्ष यादवले यसअघि पनि ओलीसँग आगामी निर्वाचनमा हुनसक्ने तालमेलबारे छलफल गरेका थिए। जसपा प्रवक्ता मनिष सुमनले भने, 'हाम्रो पहिलो प्राथमिकता पाँचदलीय गठबन्धन नै हो। तर, सिट बाँडफाँट सबैको सम्मान हुने र सबैलाई जिताउने गरी हुनुपर्छ भन्दा उहाँहरु तयार नभएपछि हामी विकल्पतर्फ लागेका हौं।'
जसपा अध्यक्ष यादव बिहीबार सत्ता गठबन्धनको बैठकमा उपस्थित भएनन्। उनी बालुवाटारमा जारी बैठक छोडेर बालकोट पुगे। यादवको अनुपस्थितिमा सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो भने बालकोटमा उपेन्द्रले सिटको भागबण्डाबारे मोटामोटी सहमति गरेको नेताहरुले बताएका छन्।
सत्तागठबन्धनमा आफ्नो मागको सम्बोधन नहुने देखेपछि जनता समाजवादी पार्टी (जसपा)ले विपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेलका लागि समानान्तर रुपमा वार्ता अघि बढाएको हुन्। गठबन्धन दलको बालुवाटारमा बैठक चल्दै गर्दा जसपाका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार राति अबेरसम्म वार्ता गरेका थिए। शुक्रबार पनि कुराकानी हुँदैछ।
एमाले नेता प्रदीप ज्ञवालीका अनुसार जसपा र एमालेबीच चुनावी तालमेलको कुरा सकारात्मक भएको छ। उनले भने, ‘फाइनल टच’ शुक्रबार हुने भनेर बिहीबार अबेर राति नेताहरु छुट्टिनु भएको हो।'
उनका अनुसार २० देखि २२ सिटमा जसपालाई सघाउने गरी दुई दलबीच सहमति हुन लागेको हो। उनले थपे, 'जसपासँग सकारात्मक रुपमा छलफल अघि बढेको छ। सहमति भए मधेसमा १६ वटा स्थानमा जसपाका लागि छाड्न तयार छौं। मधेस बाहेक अन्य स्थानमा समेत उहाँहरुको माग रहेको छ। त्यसमा चाहीँ उहाँहरुको स्ट्रेन्थ हेरेर ६-७ सिटसम्म सहयोग गर्न सकिन्छ भन्नेमा एमाले सकारात्मक छ।'
अहिलेको सत्ता गठबन्धनलाई भत्काउनका लागि लागिरहेको एमालेले जसपालाई आफूसँग राख्ने प्रयास गरिरहेको छ। एमालेले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापाको नेतृत्वको राप्रपा नेपाल, नेपाली कांग्रेस बीपीलगायतका साना दलहरुसँग पनि स्थान विशेषका आधारमा तालमेल गर्ने गरी तयारी गरिरहेको छ। एमालेले कम्तीमा १ सय ४० स्थानमा चुनाव लड्ने गरि अन्य दलहरुसँग गठबन्धन गर्ने पक्षमा रहेको बताइएको छ।
०७४ को चुनावपछि मधेस प्रदेशमा मधेस केन्द्रित दलहरुको सहकार्यमा सरकार बनेकोले आफू बलियो भएको उपेन्द्र यादवले दाबी गर्दै आएका छन्। जसपाका एक नेताका अनुसार जसपा र लोसपाबीच पनि मधेस प्रदेशमा तालमेलको विषयमा अनौपचारिक कुराकानी भइरहेको छ। जसपाका एक नेता भन्छन्, ‘हामीले पाँचदलीय गठबन्धनभन्दा बाहिर पनि चुनावी तालमेल गर्न सकिने निर्णय गरिसकेका छौं, यो भनेको एमाले र लोसपा दुबैसँग तालमेल गर्न सकिन्छ भन्ने हो।’
अहिलेको स्थितिमा मधेस प्रदेशबाट कांग्रेस, एमाले र माओवादीले चुनावी फाइदा लिन खोजेका छन् भने उपेन्द्र यादवचाहिँ मधेसमा आफ्नो पार्टीको बर्चस्व कायमै राख्ने रणनीतिमा छन्। यसका लागि एमालेसँग मिल्दा बढी लाभ हुने विश्लेषण जसपा नेताहरुको छ। ठूला दललाई उपयोग गरेर रणनीति अंगालेका उपेन्द्र यादव अन्तिम समयमा यु-टर्न हुन नदिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र मुख्य साझेदार पुष्पकमल दाहाल प्रचण्ड प्रयासरत छन्।