बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

तीजको गीत जसले हजारौंलाई सिकाउँदैछ व्याकरण

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
काठमाडौं- हिन्दु महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा विभिन्न धुन र गीत बजारमा आउने क्रम जारी छ । थोरै अर्थपूर्ण र धेरै भड्किला तीजका नयाँ गीतहरू माझ विल्कुलै नयाँ प्रस्तुती आएको छ, ‘साधारण नियम यो शुरूको र बीचको’ गीत । 

‘ह्रस्व र दीर्घसम्बन्धी नेपाली व्याकरणको तीज गीत’ले अहिले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ । गीतको भिडियो बनेको २/३ दिनमै यसका ‘भ्युअर्स’ एक लाख पुगिसकेका छन् ।

गीतका रचनाकार विमल घिमिरे अवेरनेस इन्टरनेसनल एकेडेमीका संस्थापक र नेपाली विषयका शिक्षक हुन् । उनी कक्षामा प्रवेश गर्दा विद्यार्थीहरूलाई हल्ला नगर, किताब पल्टाऊ भन्दा पनि कविता, जोक या नृत्य गर्दै भित्रिन्छन् । छात्रछात्रालाई किताबी किरो बनाउने परम्परागत सिकाइ विधिलाई उनले उनीहरूको ध्यान आकृष्ट गर्ने शैलीका रूपमा विकसित गरेका छन् ।

आफ्नो फरक प्रस्तुतीको श्रेय उनी आफ्ना शिक्षक दुर्गादत्त खरेललाई दिन्छन् । उनी कक्षा १० मा हुँदा विज्ञानको ‘इलिमेन्ट्स’ बुझ्न ग्राहो हुन्थ्यो । उनका शिक्षकले अनुष्टुप छन्दमा सिकाएका थिए, विज्ञानका इलिमेन्ट्स । त्यो शैली उनको मनमा गढेको थियो । जब आफैं शिक्षक बने, आफ्नो शिक्षकको सिको गर्दै नयाँ शैली अपनाए । ‘उहाँ नै मेरो प्रेरणाको स्रोत हुनु हुन्छ,’ घिमिरे भन्छन् ।

गुल्मीको हिमालय माविबाट माध्यमिक शिक्षा आर्जन गरेका हुन्, घिमिरेले । शिक्षण पेसामा उनले करिब दुई दशक बिताइसकेका छन् । तीजका भड्किला गीतको साटो ज्ञानगुन सिकाउने गीत रचना गर्ने ‘आइडिया’ फुर्‍यो, घिमिरेको मनमा । र, उनको मनमा पैदा भएको सकारात्मकताले ‘आउट अफ बक्स’मा काम गर्ने प्रेरणा जगायो । तीजका महिला मात्र होइन, बालबालिकादेखि युवा र वृद्धवृद्धासम्मलाई तानेको छ, ‘साधारण नियम यो शुरूको र बीचको’ गीतले ।


परम्परावादी सोच र सिकाइ प्रणाली अनि प्रविधिको प्रयोगबाट टाढा बसिरहेको समाज । उनले यही रिक्ततामा आफ्नो सिर्जनशीलताको स्थान देखे । आफ्नो सिर्जना प्रविधि र नयाँ सिकाइ प्रणालीका लागि उदाहरण बन्न सक्ने ठानेका छन्, अहिले ।

बुधबार मध्यान्ह विद्यालयमा पुग्दा घिमिरे प्रशन्न मुद्रामा देखिन्थे । आफ्नो सानो प्रयासबाट ज्ञान बाँड्न पाएकामा उनमा बेग्लै अनुभूति भइरहेको छ । पछिल्लो पुस्ता नेपाली व्याकरणप्रति उदासिन बन्दै गएको छ । व्याकरणगत शुद्धाशुद्धीको कुरा त दुरुह बन्दै गएको छ ।

आफ्नो सानो प्रयास नानीबाबु मात्र नभई व्याकरण सक्ने चाहनेहरूलाई पनि उपयोगी हुने उनले ठानेका छन् । युट्युबमा अपलोड गरिएको भिडियो भाइरल बन्दै गर्दा उनको आत्मसन्तुष्टी पनि बढेको छ । र, अझ केही नयाँ गर्न प्रेरणा प्राप्त भएको बताउँछन् ।

‘घोकन्ते र रटन्ते शिक्षण पद्धतिबाट ग्रसित तथा नयाँ पिँढीको नेपाली भाषामा कम आकर्षणका कारण आइरहेको समस्या सम्बोधन गर्दै उनको नयाँ प्रयासले केही दिन योगदान खोजेको छ । बालबालिकाले प्रविधिमैत्री र रमाइलो तरिकाले पढाउने शिक्षक खोजिरहेका हुन्छन् । विशेषतः भाषा विषयमा विद्यार्थी अलि अल्छी गर्ने हुन्छन् । यस समस्यालाई केही हदसम्म सिर्जनात्मक तरिकाले हटाउन सकिने उनको प्रयास हो ।
 
‘कला र गलाको माध्यमबाट विद्यार्थीमा रोचक र सिर्जनात्मक सिकाइ गराउने मेरो प्रयास हो र सधैं रहनेछ । लर्न विथ फनलाई अँगाल्न खोजेको हुँ ।’

तीजलाई नै केन्द्रित गरेर गीत ल्याउनुको कारण भने शिक्षा र संस्कृति दुवै क्षेत्रमा रहेका कमी कमजोरी र पुरानो शैली विस्थापित गर्ने सानो चेष्टा गरेका हुन्, उनले ।

यस गीतको सफलताको श्रेय भने आफूलाई सपोर्ट गर्ने अवेरनेस इन्टरनेसनल एकेडेमी तथा उत्साही विद्यार्थी र शिक्षकलाई दिन चाहन्छन् ।

भिडियो प्रस्तुती पहिलो भए पनि उनले पढाएका विद्यार्थीका लागि यो नौलो विषय होइन । किनभने, उनी कक्षामा कहीले ¥याप शैली त कहिले लोक भाका र चुट्किलाको माध्यमबाट पढाउँछन् ।

यस गीतका कतिपय लाइन उनले २० वर्षअघि नै लेखिसकेका थिए । आफ्नो शैक्षिक जीवनको अनुभवबाटै उनले यस्ता गीत सिर्जना गर्छन् । यस्तै, पढाउने क्रममा विद्यार्थीहरूलाई बुझाउन ग्राहो भएको विषयलाई गीति शैलीमा लाने उनको बानी छ । ‘जसरी पनि विद्यार्थीले बुझ्नु पर्‍यो,’ उनी भन्छन् ।

शिक्षण पेसाबाट कतै संगीततर्फ पो लाग्ने विचार हो कि ? उनको जवाफ छ, ‘संगीतभन्दा पनि कला र गलाको माध्यमबाट विद्यार्थीमा रोचक र सिर्जनात्मक सिकाइ गराउने मेरो प्रयास हो र सधैं रहनेछ ।’ ‘लर्न विथ फन’लाई अँगाल्न खोजेको उनको भनाइ छ ।

अवेरनेस इन्टरनेसनलमा कक्षा–१० की छात्रा दिलासासिंह ठकुरी भन्छिन्, ‘रमाइलो गरेर पढ्न पाउनुको आभास पाएकी छु । किनकि, पढाइ भनेको पढ्नु मात्र नभई रमाउनु पनि हो ।’

कक्षा–९ की छात्रा स्वीकृति ज्ञवाली आफूहरू मात्र नभई स-साना भाइबहिनीका लागि पनि यो गीत सजिलो माध्यम बन्न सक्ने बताउँछिन् ।

व्याकरणको नियमलाई घोकेरभन्दा पनि गीतको भाकामा यति रमाइलो र बुझेर पढ्न पाउनु प्रभावशाली हुने घिमिरेका विद्यार्थीहरूको भनाइ छ । किताबका कुराभन्दा श्रव्यदृष्य सामग्री सिकाइका लागि बढी प्रभावकारी हुने उनीहरूको अनुभव छ । ‘ओहो, गीतमा यस्तो पो छ भनेर सच्याउने बानी बसेको छ,’ कक्षा–१० का छात्र अनुस पौडेल भन्छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्