बिहीबार, असार ४, २०८३

ओलीले भीम र घनश्यामलाई टिकट नदिने, अन्योलमै योगेश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भीम रावल र घनश्याम भूसाललाई टिकट नदिने निष्कर्षमा पुगेका छन्। पार्टीका नीति विपरीत गतिविधि गरेको र नेतृत्वको चर्को आलोचना गरेको भन्दै अध्यक्ष ओलीले भीम र घनश्यामलाई टिकट नदिन सक्ने ओली निकट एक नेताले जानकारी दिए।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

काठमाडौं-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भीम रावल र घनश्याम भूसाललाई टिकट नदिने निष्कर्षमा पुगेका छन्। पार्टीका नीति विपरीत गतिविधि गरेको र नेतृत्वको चर्को आलोचना गरेको भन्दै अध्यक्ष ओलीले भीम र घनश्यामलाई टिकट नदिन सक्ने ओली निकट एक नेताले जानकारी दिए। 

National life

उनका अनुसार भीम रावलले एमसीसी अनुमोदन गर्ने संसद् बैठकमा पार्टीको नीति विपरीत रोस्टममा गएर अभिव्यक्ति दिएको र विभिन्‍न सञ्‍चारमाध्यम र सार्वजनिक कार्यक्रममा ओलीको चर्को आलोचना गरेको कुरालाई अध्यक्ष ओलीले गम्भीर रुपमा लिएका छन्। 

टिकट नपाउने संकेपति सामाजिक सञ्‍जाल ट्विटरमा आक्रोश व्यक्त गर्दै नेता रावलले आफूविरुद्ध सुनियोजित गलत प्रचार गरेको बताएका छन्। एमालेकै ओली निकट केही नेताहरुले रावलले माधव नेपालसँग छलफल गरेको हल्ला फैलाएका थिए। उनले भनेका छन्, 'मैले चुनाव नलड्ने प्रचारको कार्यकर्ता भेलामा खण्डन गरे पछि उम्मेदवार नबनाइने कुरा आउनु , त्यसको विरोध भएपछि प्रचण्ड र माधव नेपालसँग भेटेको भन्नु सुनियोजित हो। भेटेको र चुनावको कुरा गरेको छैन। कुरा गर्न चाहे खुला र स्पष्ट गर्ने सामर्थ्य राख्दछु। भ्रमको खेती नगर्नु उचित हुनेछ।'

त्यसैगरी नेता घनश्याम भूसाल पनि अध्यक्ष ओलीका चर्को आलोचक हुन्। उनलाई पनि ओलीले टिकट नदिनसक्ने ओली निकटकै नेताहरुले बताउने गरेका छन्। ओलीले उनको क्षेत्र रुपन्देही १ मा राप्रपाका उम्मेदवार दीपक बोहरालाई समर्थन गर्ने सहमती राप्रपासँग गरिसकेका छन्।

तत्काली नेकपा र एमाले विभाजन ताका माधव नेपालको पक्षमा उभिएका तर पछि एमालेमै समाहित भएका नेताहरूलाई प्रतिनिधि सभा र प्रदेश सभामा टिकट दिन ओली सकारात्मक छैनन्। यसअघि १० बुँदे सहमतिपछि एमालेमै रहेका १० नेताहरु विशेष पेलानमा परेका हुन्। 

Shivam cement

यसअघि स्थानीय चुनावमा पनि १० नेता निकट दर्जनौं नताहरूले टिकट नपाएको गुनासो गरेका थिए। विकल्प नभएका र कतिपय जित्‍ने अवस्था नभएका क्षेत्रमा भने हिजो माधव नेपालसँग लागे पनि अहिले आफ्नो पक्षमा बलियोसँग उभिएका नेताहरूलाई ओलीले टिकट दिने तयारी गरेका छन्। पार्टीले टिकटको अन्तिम टुंगो लगाउने जिम्मा पनि अध्यक्ष ओलीलाई नै दिएको छ। 

ओली निकट ती नेताका अनुसार उनले यज्ञराज सुनुवार ओखलढुंगा–१, जयकुमार राई सुनसरी–१, सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेल चितवन–१ र २, गोकर्ण विष्ट गुल्मी–२, झपट रावल कैलाली–२, ठाकुर गैरे, पाल्पा–२, ध्रुव शाही सुर्खेत–१ र निरज आचार्यलाई जाजरकोटको टिकट दिने भएका छन्। 

योगेशलाई अप्ठेरो

२०६४ र २०७० को चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट पराजय भोगेका योगेश २०७४ को निर्वाचनमा जन्मथलो ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भए। अघिल्लो पटक माओवादीसहितको वाम गठबन्धनबाट विजयी योगेशलाई यस पटक भने टिकट पाउन ठूलो कसरत गर्नुपर्ने देखिन्छ। उनलाई एमालेकै पोलिटब्युरो सदस्य तिलकुमार मेयाङ्बोले चुनौती दिइरहेका छन्।

मेयाङ्बो अध्यक्ष ओली निकट मानिन्छन्। उनले योगेशलाई ताप्लेजुङमा पाहुनाको संज्ञासमेत दिने गरेका छन्। मेयाङ्बोले अघिल्लो पटक र योगेशले यस पटक आफूलाई छाड्ने गरी सहमति गरेको बताउँदै आएका छन्। योगेशले भने पार्टी सचिव भएको नाताले आफूले नै टिकट पाउने दाबी गरेका छन्। 

पार्टी अध्यक्ष ओली निकट नेताबाटै टिकटमा दाबी आएपछि योगेश उपाध्यक्ष सुवास नेम्बाङलाई लिएर ताप्लेजुङ पुगेका थिए। ताप्लेजुङमा कांग्रेसबाट पूर्वमन्त्री मणि लामा, इच्छाराम गुरुङ र केशवप्रसाद दाहाल, लीला बोखिम एवं टीका गुरुङमध्ये एकलाई उम्मेदवार बनाउनेछ। कांग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङले भने प्रदेशमा उठ्ने इच्छा जताएका छन्। 

ताप्लेजुङमा अघिल्लो पटक भट्टराई २९,४७९ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशव दाहालले १६,८८८ मत प्राप्त गरेका थिए। गत ४ वैशाखको स्थानीय तह निर्वाचनले ताप्लेजुङमा एमालेलाई बलियो देखाएको छ। गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका वडाध्यक्षहरूको मत जोड्दा २५,०१२ हुन्छ, जबकि एमाले एक्लैको २४,२९५ मत छ।

नेता योगेश भट्टराईको विषयमा भने अझै टुंगो लाग्‍न सकेको छैन। ‘ताप्लेजुङका नेताहरूसँग सल्लाह गरेर निर्णय गर्छु भनेर अध्यक्षले भन्नु भएको छ, तर योगेशले टिकट पाउनुहुन्छ होला,’ एमाले स्थायी समितिका एक सदस्यले भने, ‘हिजो अर्को पक्षमा लागेका भएपनि आज अध्यक्षको समर्थनमा नै बोलिरहनुभएको छ।’

महाधिवेशनको तुष

अध्यक्ष ओलीले भीम रावल र घनश्याममाथि पनि गत वर्ष १०-१२ मंसिरमा भएको पार्टीको १० औं महाधिवेशनमा देखाएको रवैयाको तुष निकालेको हुनसक्ने आकलन पनि हुन थालेको छ। भीम रावलले ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका थिए भने घनश्यामले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए। उनीहरुले ओलीसँगको प्रतिस्पर्धामा अत्यन्तै न्यून भोट ल्याएका थिए। कुल खसेको २,०९६ भोटमा रावलको पक्षमा २२३ मत खसेको थियो। ओलीले १,८३७ मत ल्याएका थिए।

त्यस्तै १० भाइमध्येका घनश्याम भुसाल र सचिवमा भीम आचार्य पराजित भए। १० भाइमध्ये उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे अहिले एमाले केन्द्रीय समितिमा छन्। सचिवमा गोकर्ण विष्ट र योगेश भट्टराई छन्। पदाधिकारीमा निर्वाचित नभए पनि भुसाल, आचार्य, रघुजी पन्तलाई स्थायी समितिमा समावेश गरेका छन्। अमृत बोहरालाई सल्लाहाकार परिषद्को अध्यक्ष बनाइएको छ। 

उम्मेदवारी नै दाबी नगर्नेहरू 

एमाले सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहरा, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष युवराज ज्ञवाली यो पटक उम्मेदवारी नै दाबी गर्ने अवस्थामा छैनन्। ज्ञवाली गत २०७४ को निर्वाचनमा पनि चुनाव लड्नबाट पछि हटेका थिए। त्यसबेला पार्टीले चुनाव लड्न सुझाए पनि निर्वाचन महँगो हुने भन्दै पछि हटेका ज्ञवालीले यो पटक पनि इच्छा देखाएका छैनन्। ज्ञवालीले चुनाव जितेर पदमा पुग्नेभन्दा पनि पार्टी र संगठन राम्रो बनाउनुपर्छ भन्ने मान्यता रहेको बताउँदै आएका छन्। ज्ञवालीको दाङ क्षेत्र नम्बर ३ मा एमालेबाट कोमल वली वा तुलसीपुर उप–महानगरका पूर्वमेयर घनश्याम पाण्डे उम्मेदवार बन्ने सम्भावना छ।

दाङ क्षेत्र नम्बर ३ मा २०७४ को चुनावमा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हिराचन्द्र केसी अहिले नेकपा एसमा छन्। गत स्थानीय तह चुनावमा वडा अध्यक्षले पाएको मत हेर्ने हो भने एमाले नै पहिलो पार्टी देखिन्छ। तर गठबन्धन हुँदा उसकै पल्ला भारी छ। यो क्षेत्रमा एमालेको ३८,६५८, कांग्रेसको ३०,९८९, माओवादीको १२,८८० र नेकपा एसको १००० मत छ। 

त्यस्तै, अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य अघिल्लो निर्वाचनमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भए पनि यो पटक प्रदेश र संघ कतै पनि निर्वाचन नलड्ने मनस्थितिमा छन्। उनले पनि खर्चिलो निर्वाचन प्रणालीबाट त्रसित भएको भन्दै चुनाव लड्न इच्छा नभएको निकटहरूसँग बताउने गरेकी छन्। उनी निकट नेताहरूका अनुसार प्रदेशसभामा नदोहोरिने र संघमा जित्ने निश्चित नभएकाले अनिच्छा देखाएकी हुन्। २०७४ को निर्वाचनमा उनी काठमाडौं ८ को प्रदेशसभा ‘ख’बाट निर्वाचित भएकी थिइन्। त्यसबेला शाक्यले ५,१६९ मत ल्याउँदै कांग्रेसका देवरत्न डंगोललाई पराजित गरेकी थिइन्। अष्टलक्ष्मी प्रदेशसभा सदस्य भएका बेला सो क्षेत्रबाट एमालेका जीवनराम श्रेष्ठ उम्मेदवार बनेर जित हात पारेका थिए।

जीवनरामले कांग्रेसका नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए। अहिले श्रेष्ठ नेकपा एसमा छन्। गठबन्धनका तर्फबाट श्रेष्ठ सशक्त उम्मेदवार हुन्। यो क्षेत्रमा अहिले एमालेले प्रदेशसभा सदस्य राजेश शाक्यलाई उम्मेदवार बनाउने सम्भावना रहेको सो पार्टीका नेताहरूको भनाइ छ। काठमाडौं ८ मा स्थानीय तहको मतलाई हेर्दा कांग्रेसको १० हजार ८७२, एमालेको ९ हजार २५३, नेकपा एसको ५,१४२, राप्रपाको  ३,१६० र माओवादीको १८९ छ। गठबन्धनसँग झन्डै दोब्बर मतान्तर भएपछि शाक्यले यो क्षेत्रमा चुनावमा उम्मेदवार बन्ने दाबी छाडेको बताइन्छ। 

अमृत बोहराले पनि चुनाव लड्ने इच्छा देखाएका छैनन्। उनको निर्वाचन क्षेत्र सिन्धुपाल्चोक–१ हो। अघिल्लो पटक पनि उनको क्षेत्रमा वाम गठबन्धनबाट अग्नि सापकोटा चुनावी मैदानमा थिए। उनको क्षेत्रमा अब एमालेबाट अरुण नेपाल र सरेश नेपाल चुनावी मैदानमा आउने सम्भावना छ। 

यो क्षेत्रमा कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतको पनि सशक्त दाबी छ। सापकोटा र बस्नेतमध्ये टिकट कसको भागमा पार्ने भन्ने टुंगो लगाउन गठबन्धनमा पनि ठूलै सकस पर्ने देखिन्छ। स्थानीय चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा पनि एमालेभन्दा गठबन्धन धेरै मतले अगाडि देखिन्छ। यो क्षेत्रमा कांग्रेसको ३४,७६१, एमालेको २७,०५९, माओवादीको १९,३४४ र नेकपा एसको २,३११ मत छ। 



प्रकाशित: Oct 03, 2022| 13:04 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...