भरतपुर- दसैं बिदा मनाउन काठमाडौंबाट इलाम घर हिँडेका सन्देश रम्तेलको मनमा छुट्टै उमंग थियो। वर्षदिनको चाड मनाउन उनले मोटरसाइकलमा इलाम-८ को यात्रा तय गरे तर त्यो यात्राले उनको जीवनको बाटो नै मोडिदियो। मनमा उत्साह बोकेर परिवारजनको टीका र आशीर्वाद थाप्न हिँडेका उनी अस्पताल श्य्यामा छट्पटाइरहेको अवस्थामा आफूलाई पाएका थिए। उनी चढेको मोटरसाइकल अनियन्त्रित भइ इलामको हरकट्टेमा दुर्घटना हुँदा सन्देश गम्भीर घाइते भए।
उनले लामो समय उपचारको क्रममा अस्पतालमा गुजारे। डाक्टरले उनको दुवै खुट्टासहित शरीरको आधा भाग नै चल्न नसक्ने भनिदियो। तर, उनले हार मानेनन् निरन्तर फिजियोथेरापी जान थाले। अन्तत: उनी ह्विल चेयरको साहारामा हिँडडुल गर्न सक्ने स्थितिमा पुगे। दक्ष वकिल बन्ने सपना बुनेर काठमाडौंमा कानुन पढ्दै गरेको सन्देशको मनोबल दुर्घटनाले दिएको चोटले खस्कियो।
१० महिनासम्म हल न चलको स्थितिमा घरमै थन्किँदा उनलाई आत्महत्यासम्मको सोचबाट गुज्रिनुपर्यो। 'मैले त यस्तो जिन्दगी बाँच्दिनँ भनेर परिवारलाई सुनाएको थिए तर दाइहरुले हार नखानू भनेर भरोसा दिनुभयो,' २५ वर्षीय सन्देश जिन्दगीको अँध्यारो पाटोबारे सुनाउँदै भन्छन्।
दुर्घटनापछि उनले निरन्तर घरमै पनि फिजियोथेरापी गराउन थाले। फिजियोथेरापी सेन्टर जाँदा उनले आफूजस्तै अपाङ्गता भएका थुप्रै व्यक्ति देखे। उनीहरुले विभिन्न सिपमूलक तालिम सिकेर आफ्नो जीवनलाई अगाडि बढाइराखेका थिए। जीवनमा हार खानुहुन्न बरु पृथक केही गर्नुपर्छ भन्न सोच उनमा आफूजस्तै साथीहरु देख्दा आउन थाल्यो। २५ वर्षीय सन्देशले अहिले कानुनमा स्नातक गरिसकेका छन्। आफ्नो सपना पछ्याउँदै कानुन व्यवसायी बन्ने दृढ संकल्प लिएका छन्, उनले।
दुर्घटनाले फेरिएको चुनौतीको सामाना गर्दै उनी अहिले फरक यात्रामा निस्केका छन्। मेचिदेखी महाकालीसम्मको ह्विलचेयरमा यात्रा। असोज ३ गते संविधान दिवसको अवसरमा सन्देश ह्वीलचेयरमा मेची-महाकाली यात्रामा निस्किएका छन्। पहिलो चरणमा नेपालको मेचीदेखि महाकाली सम्मको यात्रामा निस्केका उनी लगत्तै विश्व यात्रामा निस्कने बताउँछन्। अपाङ्गताका मुद्दासँगै उनको यात्राको उद्देश्य विश्व शान्ती र मेलमिलापको पनि छ। 'लुम्बिनी, पशुपतिनाथ र लारुम्बाको माटो बोकेर म विश्वयात्रामा निस्कन चाहन्छु,' उनी भन्छन्।
ह्वीलचेयर यात्रामा निस्किँदा उनले थुप्रै व्यवधान र अवसरको अनुभव गरिराखेको सुनाए। 'कतिले त बिरामी भएर माग्न हिँडेको भनेर सोध्नुहुन्छ,' उनी भन्छन्, 'कहिले ह्वीलचेयर गुडाउँदा गुडाउँदै चाहिएको बेलामा साथसहयोग पनि पाइँदैन सडकको संरचनाले पनि गुडाउन अप्ठ्यारो हुन्छ।'
उनी अहिले झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, बारा, पर्सा, हेटौंडालगायतका जिल्ला छिचोल्दै नवलपरासी आइपुगेका छन्। यात्राले हिमाल, पहाड र तराइका सांस्कृति विविधता अवलोकन गर्ने र बुझ्ने अवसर पाइरहेको सुनाए। उनी सडकमा ह्वीलचेयर गुडाइराखेका मात्रै छैनन्, हाइवेमै पर्ने स्थानीय सरकारलाई भेटेर अपांगता भएका व्यक्तिको हक र अधिकार सुनिश्चतताको लागि ध्यानाकर्षण पनि गराइराखेका छन्। 'अपाङ्गता भएका व्यक्तिको अधिकार र स्थानीय निकायमा भइराखेका भौतिक संरचना अपांगतामैत्री हुनुपर्ने कुरा पनि राख्दै आएको छ,' उनले सुनाए।
आफ्नो यात्राले अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु मुख्य ध्येय रहेको उनी सुनाउँछन्। 'शारीरिक रुपमा सबल मान्छेभन्दा अपांगता भएका व्यक्तिले धेरै अड्चन भोग्नुपर्छ तर त्यसो भन्दैमा उनीहरु मानसिक रुपले पनि कमजोर हुन्छन भन्ने सोच्नु हुँदैन,' उनी भन्छन्।