सिभिल बैंकले गत आर्थिक वर्षमा १६३ प्रतिशतले नाफा बढाएको छ। निक्षेप र कर्जाको पोर्टफोलियो पनि दोब्बरले बढाउन सफल बैंकले हिमालयन बैंकसँग मर्जमा जाने निर्णय गरिसकेको छ। पुसभरमा एकीकृत कारोबार थाल्ने गरी काम भइरहेको बताइएको मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी २२ अर्ब पुग्नेछ। सिभिलको एक सय कित्ता हुने सेयरधनीले मर्जर प्रक्रियापछि बन्ने बैंकमा ८१ कित्ता सेयर पाउने गरी सम्झौता भइसकेको छ।
तरलता अभावमा पनि सिभिको अपेक्षाकृत प्रगति, हिमालयन बैंकसँगको मर्जर प्रक्रिया, मर्जरपछि पर्ने प्रभाव, बैंकिङ क्षेत्रका समस्यालगायतका विषयमा बैंकका सीईओ सुनील पोखरेलसँग नेपाल समयकर्मी शर्मिला ठकुरीले गरेको कुराकानीको सारांश:
दुई वर्ष अगाडि सिभिलले हिमालयन बैंकसँग मर्जमा जान चाहेको भनेर 'लेटर अफ इन्टेन्ट' (इच्छापत्र) पठाएको थियो। त्यतिबेला सेयर स्वाप रेसियोमा मात्र हैन कुनै पनि विषयमा छलफल भएन।
बैंकहरू पारदर्शी हुन्छन्। यसका सबै विवरण समयसमयमा सार्वजनिक भइरहन्छन्। पारदर्शिताकै कारण मर्जरपछि बन्ने बैंकमा सिभिलका सेयरधनीले १०० कित्ता बराबर ८१ पाउने भएका हुन्। बैंकहरुको मूल्यांकन गर्ने पनि विधि हुन्छ। मूल्यांकन भइसकेपछि कुन संस्थाको कति स्वाप रेसियो हुनुपर्छ भनेर सजिलै निकाल्न सकिन्छ। बैंकको मूल्यांकन गर्ने निर्देशिका, कार्यविधि र सूचक हुन्छन्। त्यही विधिप्रक्रिया अपनाएर सम्पत्ति तथा दायित्व मूल्यांकन (ड्यु डेलिजेन्स अडिट- डीडीए) हुने हो। यी सबै विषयको हिसाबकिताब गणना गरेर नै उक्त स्वाप रेसियो कायम गरिएको हो।