शनिबार, साउन १२, २०८१

फेरिए चन्दननाथका लिङ्‍गा

जुम्लावासीले चन्दननाथ र बटुक भैरवनाथको मन्दिरमा ५२ हातको लिङ्‍गो, ५२ हातको ध्वजा र नेजा लगाएर घटास्थापना सुरु गर्छन्। घटस्थापनाकै दिन बटुक भैरवनाथ मन्दिरमा भने ४८ हातको लिङ्‍गो र ४८ हातकै ध्वजा र नेजा सहितको लिङ्‍गा फेरिन्छ।
 |  मंगलबार, असोज ११, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

मंगलबार, असोज ११, २०७९

नेपालगञ्ज- जुम्ला जिल्लाको सदरमुकाम खलङ्‍गास्थित चन्दननाथ मन्दिर कर्णालीकै प्रसिद्ध मन्दिर हो। यो मन्दिरलाई दत्तात्रय मन्दिर पनि भनिन्छ। मन्दिरमा पूजाआजा नगरे देशमा अनिष्ट हुन्छ भन्ने भनाइ स्थानीयले पालना गर्छन्। घटस्थापनाको दिन मन्दिरको लिङ्‍गो फेर्ने चलन छ। भव्य रुपमा लिङ्‍गो फेरेर मात्रै कर्णालीमा दसैं भित्र्याउने परम्परा छ। 

triton college

जुम्लावासीले चन्दननाथ र बटुक भैरवनाथको मन्दिरमा ५२ हातको लिङ्‍गो, ५२ हातको ध्वजा र नेजा लगाएर घटास्थापना सुरु गर्छन्। घटस्थापनाकै दिन बटुक भैरवनाथ मन्दिरमा भने ४८ हातको लिङ्‍गो र ४८ हातकै ध्वजा र नेजा सहितको लिङ्‍गा फेरिन्छ। लिङ्‍गो ठड्याएपछि मात्र कर्णालीमा घटास्थापना सुरु हुन्छ। औपचारिक रुपमा दसैं पर्वको माहोल बन्छ। 

नाग पञ्चमीको दिन ५२ हातको सबैभन्दा ठूलोसहित तीनवटा अरु लिङ्‍गा काटिन्छन्। त्रयोदशीको दिन लिङ्‍गो तानिन्छ र घटस्थापनाको  दुई दिन अगाडि मात्रै लिङ्‍गो ताछ्ने, खुर्कने र मिलाउने गरिन्छ। घटस्थापनाको दिन रातो, सेतो, रङ्गीविरङ्गी कपडाले लिंगो पूरै ढाकिन्छ। लिंगोको टुप्पोमा पताका लगाएर मन्दिरमा ठड्याइन्छ। 

ठड्याउने क्रममा लिंगो भाँचियो वा खण्डित भयो भने पूरै देशमा अनिष्ट हुन्छ भन्ने भनाइ छ जुम्लाबासीको। 'चन्दननाथको लिंगो फेर्ने संस्कृति कर्णालीको आस्थाको धरोहर हो, कुनै कारणले यो लिङ्‍गो भाँचियो भने देशमा अनिष्ट हुन्छ,' चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतले बताए। 

एक वर्षमा ५२ हप्ता हुन्छ। मन्दिरमा ५२ हाते लिंगो नै खडा गर्ने प्रचलन छ। 'यो सयौँ वर्ष पुरानो परम्परा हो। यसलाई कर्णाली तथा सभ्यताको एउटा महत्वपूर्ण पक्षको रुपमा लिने गरिन्छ र हरेक घटस्थापनाको दिन लिंगो राखिएपछि दशैको सुरुवात भएको मानिन्छ,' चन्दननाथ भैरवनाथ मन्दिर गुठीव्यवस्थापन समितिका सचिव जितबहादुर महतले भने, 'धार्मिक मान्यताअनुसार एक वर्षमा ५२ हप्ता हुन्छ, त्यस कारणले चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो खडा गर्ने प्रचलन छ। तर जंगलमा ५२ हातको लिङ्‍गो पाउन छोड्यो।' समितिका सचिव महतले बताए वनजंगल नासिँदै गएपछि ५२ हाते लिङ्गा पाउन मुस्किल भएको बताए।

Metro Mart
vianet

प्रत्येक वर्ष तीन वटा लिङ्‍गो फेरिन्छ। चन्दननाथ, अखडा देवी र बटुक भैरवनाथको गरी तीनवटा फेरिन्छ भने अर्को विजयी स्तम्भ पनि खडा गर्ने परम्परा छ। देवताको जयघोष र पूजा आरती, भजनकिर्तन हुन्छ। स्थानीयको ठूलो जमघट हुन्छ मन्दिर क्षेत्रमा मेला नै लाग्छ। नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी र सर्वसाधारणको सहभागितामा लिङ्‍गो ठड्याउने काम हुन्छ।  

लिङ्‍गो ठड्याउँदा नेपाली सेनाले तोप सहितको सलामी दिने गर्छन्। लिङ्‍गोमा फूल अछेता, पैसा हाल्नेको भिड पनि बाक्लो हुने गरेको छ। मनको इच्छा पुरा हुने, माटो लिँदा उब्जनी बढ्ने, पुरानो लिङ्‍गोको ध्वजा लिएर लगाउँदा भूतप्रेत नलाग्ने जस्ता सामाजिक मूल्य मान्यता अहिले पनि कायमै रहेका छन्।

पुरानो लिंगो निकाल्दा मानिसहरुले लिंगोमा बाँधिएका ध्वजा र नेजाहरु घर लैजान्छन्। पुराना ध्वजा र नेजा लिए शक्ति प्राप्त हुने र अनिष्ट नहुने यहाँ जनविश्वास छ। लिंगो गाड्दा खनिएको माटो समेत बोकेर घरमा लिने गरिन्छ। 'मनको इच्छा पुरा हुने, माटो लिँदा उब्जनी बढ्ने, पुरानो लिङ्‍गोको ध्वजा लिएर लगाउँदा भूतप्रेत नलाग्ने मान्यता अहिले पनि कायमै छ।' गुठीका अध्यक्ष कठायतले बताए। 'मन्दिरको माटो लिएर खेतमा हाल्ने र जमरा राख्ने चलन छ। तर विगतको जस्तो स्थानीयको सक्रियता देखिन्न।' अध्यक्ष कठायतले बताए। 

किन घट्दैछ रौनक?
एक दशक पहिलेसम्म लिङ्गा फेर्न तत्कालीन कर्णाली अञ्चलका जिल्लाबाट विभिन्न बस्तु पठाउने चलन थियो। जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घिउ, मह आउथ्यो। हुम्लाबाट ठेटुवा, चौरी फुर्को र थाप्का आउथ्यो भने मुगुबाट मास, मुगी दाल, राडीपाखी, ठेटुवा र चौरी पठाइन्थ्यो। तर त्यो अहिले सबै रोकिएको छ। 

'अहिले त सुरक्षाकर्मीकै भरमा लिङ्‍गो फेर्नु पर्ने अवस्था छ। भक्तजनको आर्कषण पनि घट्दै जान थालेको छ।' अध्यक्ष कठायतले बताए। यसअघि सरकारी कर्मचारी, स्थानीय ढाणथपाल लगायत गाउँका क्षत्री र सेनाको पल्टनले लिंगो ल्याउने प्रचलन थियो। जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरमा चन्दननाथ नगरपालिका–३ रडिखेल्ला जंगलबाट ५२ हाते लिंगो ल्याउने गरिन्छ। 

एउटा पल्टने लिंगो हुन्छ जो नेपाली सेना, नेपाल प्रहरी र निजामती कर्मचारीहरुले ल्याउछन्। अर्को थपाले लिंगो, जो गाउँलेहरुले मात्र ल्याउने चलन छ भने तेस्रो कमसले लिंगो हो। जो जिल्लाका सबै दलित समुदाय मिलेर ल्याउने गरिन्थ्यो। तर केही वर्षदेखि परम्परागत चलन हराएको छ। २०४६ सालपछि दलित समुदायले आफूहरु माथि विभेद भएको भन्दै लिङ्‍गो लिन नगएर विद्रोह गरेपछि अहिले लिङ्‍गो सबै समुदाय मिलेर ल्याउने चलन छ। 

अहिले लिङ्‍गो काट्ने र तास्ने लगाएतका काममा स्थानीयको आकर्षण कम हुँदै गएको अगुवाहरु बताउछन्। जस्का कारण लिङ्गा काट्ने, तास्ने र मिलाउने मानिसलाई ज्यालाको समेत व्यवस्था गरिएको छ। स्थानीयले जंगलबाट लिंगो ल्याउन छोडेपछि सेना र प्रहरीको सहयोग लिनुपरेको अध्यक्ष कठायतले बताए। अहिले स्थानीय प्रशासनले लिंगो ल्याउने दिन सरकारी बिदासमेत दिने गरेको छ। 

सादगीहरुको क्षेत्र चन्दननाथ
चन्दननाथ मन्दिर क्षेत्रमा लसुन, प्याज, कोदो, भट्ट, मसुरोको दाल प्रयोग गर्न पाइँदैन। प्रत्येक बिहान ८ माना चामलको भोक लगाउने गरिन्छ। बिहान काली मार्सी चामलको भातको भोग लगाइने यो मन्दिरमा साँझमा काली मार्सी धानकै चिउरा र दुधको भोग लगाउने गरेको गुठीका अध्यक्ष कठायतले बताए। बासी वा पकाएर पुरानो भएको खानेकुरा खान पाइदैन। स्थानीयहरुले यो क्षेत्रलाई अत्यन्तै पवित्र स्थलको रुपमा लिन्छन्। 

हरेक दिन बिहान आरतीसँगै मन्दिरको अगाडि रहेको ठूलो घण्ट र दमाहा बजाइन्छ। ती घण्टा र दमाहालाई बिहान आरतीको समयबाहेक अरु समय बजाउनु हुँदैन भन्ने मान्यता रहेको छ। 

जुम्लावासीले लिंगो खडा गर्ने दिनमा नयाँ अन्न अर्थात् न्वागी खाने परम्परा समेत छ। मार्सीधान पनि त्यहि दिनदेखि काट्न सुरु गरिने जुम्लाका पत्रकार रतन नेपालीले बताए। मार्सी धान भित्र्याएर चन्दननाथलाई चढाएपछि घर परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर न्वागी खाने प्रचलन अहिले पनि कायम छ। 

चन्दननाथ मन्दिरको इतिहास
खश मल्ल साम्राज्यको अन्त्यपछि कर्णाली क्षेत्रमा वाइसे र गण्डकी क्षेत्रमा चौविसे राज्यको उदय भयो। कर्णालीको वाइसे मध्य एक शक्तिशाली राज्य थियो - जुम्ला। यस राज्यलाई खश कल्याल वंशले शासन गरेको देखिन्छ। बलिराजालाई यस राज्यको पहिलो राजा मानिन्छ भने सुर्यभन शाहीलाई अन्तिम। 

यसै राजवंशको समयमा कश्मीरबाट चन्दननाथ नाम गरेका एक महागुरु कैलास मानसरोवरको धार्मिक यात्राको क्रममा जुम्ला आइपुगेको पाइन्छ। राजवंशका राजाले ती गुरुलाई जुम्ला मै बसाल्ने व्यवस्था मिलाउछन। ति गुरु दत्तात्रय भगवानका उपासक थिए भनिन्छ। उनले त्यहाँ मन्दिर स्थापना गरेर बस्न थाले। उनै चन्दननाथले स्थापना गरेको मन्दिर भएकोले यस मन्दिरको नाम पनि चन्दननाथ मन्दिर रहन गएको संस्कृतविद्हरु बताउछन्। चन्दननाथले त्यहाँ एक भैरवनाथ मन्दिर पनि स्थापना गरेको जुम्लाका संस्कृतिविद् रमानन्द आचार्यको भनाइ छ। 

मन्दिर स्थापनाको मिति तय गर्नका लागि मन्दिरमा भेटिएको सरस्वतीको मूर्तिलाई आधार मानिएको छ। जसमा ६०१ लेखिएको छ। त्यसको आधारमा १४ सय वर्ष पहिले मन्दिर स्थापना भएको हुन सक्ने इतिहासविद् आचार्यले बताए। 

मन्दिरको स्थापना विसं १०१८ साल तिर भएको र चन्दन नाथ बाबाको पूरा प्रभाव १४५६ सालबाट भएको गुठिका अध्यक्ष कठायतले बताए। 

चन्दननाथ बाबाको योगदान 
नेपालको भाषा संस्कृतिको उद्गमस्थल जुम्ला हो। जुम्ला मार्सी धानको उत्पादन हुने क्षेत्रको रुपमा पनि चर्चित स्थान हो। यो प्रशिद्ध मार्सी धानको बिउ उनै चन्दननाथले नै कश्मिरबाट जुम्ला ल्याएका थिए भन्ने इतिहास छ। यद्यपी यो इतिहासमा सबै विज्ञको मतएक्यैता भने छैन। 

जुम्लाको बस्ती बसाल्ने, धान खेती गर्ने तथा प्रशासनिक र प्राविधिक कामको समेत सुरूवात चन्दननाथ बाबाले नै गरेको विभिन्न अध्ययनले देखाएको छ। जस्का कारण जुम्लाका स्थानीयहरुले चन्दननाथ बाबालाई इष्टदेवताको रुपमा समेत पूजा गर्ने गरेको पाइएको छ। 

उनले चन्दननाथ मन्दिरजस्तै भगवान दत्तात्रयको मूर्ति भक्तपुर र भारतको गिरधारमा समेत रहेको अध्ययनकर्ताहरुले बताएका छन। भगवान दत्तात्रयलाई ब्रह्मा, विष्णु र महेश्वरको एउटै मिश्रित रूप मान्ने गरिएको छ। यो मन्दिरमा शिव पद्धतिद्वारा पूजा गरिन्छ। अनिवार्य गाईपालन गर्नुपर्ने विस्वास रहेको मन्दिरमा यसअघि घोडीहरु पनि पाल्ने गरिएको पाइन्छ। 

चन्दननाथ राजगुठीबाट सञ्चालन हुँदै आएको यो मन्दिरको नाममा जुम्लाका विभिन्न स्थानमा प्रशस्त जमिन छ। चन्दननाथ राजगुठीको नाममा एक लाख ४ हजार वर्गमिटर अर्थात करिब २ सय ५ रोपनी जमिन भएपनि सबै जमिन ठूगीसँग छैन। कतै घर बनाइएका छन् भने कतै स्याउ फर्मको लागि ठेक्कामा समेत लगाइएको छ। 

पछिल्लो समय गुठीको जग्गा अतिक्रमण भएको छ। मन्दिरको जग्गामा टहरा बनाउने‚ केही समय भाडामा लिने, पछि अतिक्रमण गर्दै जाँदा गुठीको जग्गा मासिँन थालेको समितिले बताएको छ। अहिलेसम्म मन्दिरको गुरुयोजना समेत बनाइएको छैन। 

ऐतिहासिक, धार्मिक तथा पुरात्वितक रुपमा महत्वपूर्ण मन्दिर भएपनि सरकारले सार्वजनिक गरेको एक सय पर्यटन गन्तव्यभित्र चन्दननाथ मन्दिर पर्न नसकेको प्रति स्थानीय अगुवाहरुको गुनासो छ। बाबा चन्दननाथ र बटुक भैरवनाथको मन्दिर कर्णालीको धार्मिक पर्यटनको एक ऐतिहासिक गन्तव्य भएपनि सरकारले उपेक्षा गरेको गुठिका अध्यक्ष कठायतले बताए। 


प्रकाशित: Sep 27, 2022| 15:12 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।