बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपामा वरिष्ठ उपाध्यक्ष बन्ने भएपछि साझाको साधारण सदस्यबाटै मिश्रले दिए राजीनामा

राप्रपामा वरिष्ठ उपाध्यक्ष बन्ने भएपछि साझाको साधारण सदस्यबाटै मिश्रले दिए राजीनामा

राप्रपामा अध्यक्षपछिको वरीयता लिएर जाने भएपछि उनले विवेकशीलको साधारण सदस्य पदबाटै राजीनामा लेखेका हुन्। राप्रपाले मिश्रलाई भित्र्याउने निर्णय गरिसकेको छ।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं- विवेकशील साझापा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्य पदबाट पनि राजीनामा दिएका छन्। मिश्रले पार्टी अध्यक्ष समीक्ष बास्कोटासमक्ष राजीनामा पेस गरेका हुन्। 

National life

'मैले पार्टी नै परिवर्तन गर्नु पर्ने भएकोले आजकै मितिदेखि लागू हुने गरि मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु,' मिश्रले अध्यक्ष बाँस्कोटालाई पठाएको पत्रमा उल्लेख छ।

राप्रपामा अध्यक्षपछिको वरीयता लिएर जाने भएपछि उनले विवेकशीलको साधारण सदस्य पदबाटै राजीनामा लेखेका हुन्। राप्रपाले मिश्रलाई भित्र्याउने निर्णय गरिसकेको छ।

राप्रपा कार्यसम्पादन समितिको बैठकले मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाउँदै पार्टीमा स्वागत गर्ने निर्णय लिएको हो। सम्भवतः भोलि नै मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्षका रूपमा घोषणा गर्नेछ। 

मिश्रसँगै विवेकशील–साझाबाट कति नेताहरू आउँछन् भन्ने प्रष्ट छैन। मिश्रले भने विवेकशील साझाको केन्द्रीय समितिको आधा हिस्सा आफूले राप्रपा प्रवेश गराउने दाबी गर्दै आएका छन्। 

Shivam cement

मिश्रको राजीनामा पत्र:

झण्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम संवर्द्धनवादी ९मडरेट कन्जरभेटिभ०’ राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुविकरणको प्रयासमा लागेको यहाँलाई विदित नै छ। अन्ततोगत्वा सो प्रयासको पहिलो महत्वपूर्ण पाइलाले मूर्त रूप लिने देखिएको छ। त्यसका लागि मैले पार्टी नै परिवर्तन गर्नु पर्ने भएकोले आजकै मितिदेखि लागू हुने गरि मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु।

यो मेरा लागि जीवनकै एउटा सबैभन्दा कठिनतम निर्णय हो। लामो गृहकार्यपछि आफैँले नेतृत्व गरेको साझा, र पछि, विवेकशील साझा पार्टीलाई, मार्ग परिवर्तन गरेर, फरक दृष्टिकोण बोक्ने साथीहरूको जिम्मा लगाउँदै ‘घर’ छोडेर हिँड्नु निश्चय पनि सहज विषय होइन। राजनीति र पार्टीको प्रधान उद्देश्य राष्ट्रहित हो। सो परिप्रेक्ष्यमा गत पाँच वर्षमा मैले यो देशका लागि जे अत्यावश्यक छ भन्ने सम्झिएँ, त्यो विश्वासलाई मार्नु उचित नहुने ठानेँ। मेरो मार्ग परिवर्तन र राजीनामा त्यसैको परिणाम हो।

नेपाली राजनीतिमा, अब दुई ध्रुवमा, तीनवटा प्रमुख पार्टी रहने छन्। ‘बायाँ ध्रुव’ मा नेपाली कांग्रेस र नेकपा एमाले रहने छन्, जसको प्रणालीगत दृष्टिकोणमा समानता रहे पनि कार्यनीतिहरूमा केही अन्तर हुनेछ। ‍यी दुईकोबीचमा केही वर्ष माओवादी पेण्डुलम झैँ कहिले यता, कहिले उता गरिरहने छ। तर समयक्रममा त्यो कि ‍साँगुरिँदै जानेछ कि राजनीतिबाटै हराउने छ।

नेपाली कांग्रेस र एमालेको विपरित ‘दायाँ ध्रुव’मा ‘नरम संवर्द्धनवादी ९मडरेट कन्जरभेटिभ’ शक्ति रहने छ, जो राजनीतिक(सामाजिक रूपमा नरम संवर्द्धनवादी र अर्थ(राजनीतिक रूपमा उदार तर कल्याणकारी हुनेछ। अर्थात् त्यसले तुलनात्मकरूपमा उदार अर्थतन्त्रभित्र निस्शुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता विषयलाई जोडदार रूपमा उठाउने छ र अंगिकार गर्नेछ। यो देशको दूरगामी हित र रूपान्तरणका लागि सोही नरम संवर्द्धनवादी शक्ति निर्माण गर्न मैले आफू पनि संलग्न भएर बनाएको घरभन्दा माथि देशलाई राखेको हुँ।

जो मेरो धारणासँग सहमत हुनुहुन्न र जसले मेरो मार्ग परिवर्तनबाट पीडा, अन्यौल र असहजता महसुस गर्नुभएको छ, म उहाँहरूको भावना बुझ्न सक्छु र उहाँहरूसँग हृदयदेखि क्षमायाचना गर्न चाहन्छु। वैचारिकरूपमा मसँग सहमत नहुने तिनै साथीहरूलाई अघि बढ्न सहज होस् भन्नकै लागि मैले यसबीच वैधानिक रूपमा पार्टी जोगाउनको लागि सकेको भूमिका निर्वाह गरेको हुँ। म मा आएको परिवर्तनका कारण हाम्रा दृष्टिकोणमा अन्तर रहे पनि र हामी फरक पार्टीमा भए पनि, तपाईँहरूप्रतिको मेरो भावना, स्नेह र सम्मानका कुनै कमी आउने छैन।

साझा र विवेकशील साझा पार्टीको निर्माणका क्रममा पार्टीभित्र र बाहिरबाट मलाई निश्वार्थ सहयोग गर्नुहुने र सद्भाव राख्नुहुने सबैप्रति मैले जति आभार प्रकट गरे पनि अपर्याप्त हुन्छ। म सबैलाई के विश्वास दिलाउन चाहन्छु भने मैले पछिल्लो समयमा लिएका कठिन निर्णयहरू देशलाई नै शिरमा राखेर लिएको हुँ। मेरो निर्णयले परिणाम दिएन भने त्यो दोषको भागेदार अरू कोही नभएर म हुनेछु। परिणाम दियो भने, त्यसको सम्पूर्ण श्रेय शुभेच्छुक र सहयात्रीहरूमा जानेछ।

यसै अवसरमा, विश्वासिलो, बलियो र रूपान्तरणकारी नरम संवर्द्धनवादी शक्ति निर्माणका लागि समान सोच र आस्था भएका सबै व्यक्ति, समूह र पार्टीहरूलाई एकवद्ध हुन पनि म विनम्र आग्रह गर्न चाहन्छु।

प्रकाशित: Sep 26, 2022| 21:32 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...