काठमाडौं- एसिया कप छनोटका लागि भइरहेको खेलमा हङकङविरुद्ध अत्यन्त खराब प्रदर्शन गरेको नेपाल ९५ रनमा प्याकअप भएको छ । मलेसियामा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले लज्जास्पद प्रदर्शन गर्दै ९५ रनमै समेटियो ।
३९ ओभर ५ बलमा अलआउट हुँदै नेपालले हङकङ सामु ९६ रनको झिनो लक्ष्य पेश गरेको छ । हङ्कङ केहिबेरमा जवाफि ब्यटिङमा उत्रिदैछ ।
आजको खेलमा नेपालले सुरुवात नै खराब गरेको थियो । पहिलो ओभरमै ओपनर सुवास खकुरेललाई शुन्य रनमा आउट भए भने ८ ओभरमा २३ रन बनाउदा दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का आउट भएका थिए । उनले जम्मा १४ रन बनाए ।
यस्तै १५ ओभर ५ बलमा ४४ रन बनाउदा नेपालले तस्रो विकेट गुमाएको थियो । तेस्रो विकेटका रुपमा अनिल शाह आउट भए । उनी ४२ बल खेल्दै १५ रन जोडेर आउट भए ।
यसैगरि चौथो विकेटका रुपमा १२ रन बनाएर ज्ञानेन्द्र मल्ल आउट भए । १६ ओभर ३ बलमा नेपालले ४७ रन जोड्दा उनी आउट भएका हुन् । यस्तै दिपेन्द्रसिंह ऐरि २ रनमा आउट भए । नेपालले १७ ओभर ४ बल खेल्दै ५३ रन जोड्दा उनी आउट भएका हुन् ।
नेपालले २० ओभर ४ बल खेल्दा छैटौँ विकेट गुमाएको थियो । ९ बल खेल्दै ७ रन बनाएर सागर पुन आउट भएका हुन् । २३ ओभर ५ बल खेल्दा नेपालले ७ विकेट गुमाएको थियो । नेपालले ५८ रन बनाउँदा सोमपाल कामी सातौ विकेटका रुपमा खाता नै नखोली आउट भए ।
आठौं विकेटका रुपमा आरिफ शेख १८ रन बनाएर पेभेलियन फर्किए भने नवौं विकेटका रुपमा सन्दिप लामिछाने २ रन बनाएर आउट भए । दशौं विकेटका रुपमा ललित राजबंशी शुन्य रनमा आउट भए ।
गति समाउन नसक्दा नेपालको ब्याटिङ अत्यन्तै कमजोर देखियो । शीर्ष दुईमा पर्न नेपालले हङकङलाई भारी अन्तरले हराउनुका साथै ओमानले यूएईलाई पनि त्यसरी नै हराउनुपर्छ ।
सहभागी ६ मध्ये आयोजक मलेसिया र सिंगापुर फाइनल होडबाट बाहिरिइसकेका छन्। बाँकी चार टिम फाइनल पुग्ने सम्भावना कायमै छ । तर कुनै पनि टिमले फाइनलमा स्थान सुरक्षित गरिसकेका छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४