बुधबार, वैशाख २६, २०८१

यी महिला नेतृ होमिँदैछन् प्रत्यक्ष निर्वाचनमा

प्रतिनिधिसभाका १६५ सिटमध्ये कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट १७ जना महिला नेतृले टिकट पाउने निश्चितजस्तै छ। मुख्य राजनीतिक दलहरूले समानुपातिकतर्फ महिला नेतृहरूलाई समट्दै आए पनि यस पटक प्रत्यक्षतर्फ टिकट दिएका छन्।
 |  शुक्रबार, असोज ७, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, असोज ७, २०७९

काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीमा दलहरू व्यस्त छन्। कुनै दल गठबन्धन बनाउने कसरतमा छन्, कतै गठबन्धनमा सिट बाँडफाँटको प्रयास जारी छ। योसँगै घोषणापत्र लेखन र उम्मेदवार चयनको काम पनि दलहरूको प्राथमिकतामा छ।

triton college

प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमा दलहरूले उम्मेदवार चयन गर्नुपर्नेछ। तर प्रत्यक्षतर्फ चुनाव लड्न इच्छुक र टिकट पाउने सम्भावना रहेका महिला नेतृहरूको संख्या भने नगन्य  छ।

दलहरूले प्रत्यक्षतर्फ महिलालाई टिकट दिन हिचकिचाउने गरेको आरोप लाग्दै आएको छ। उम्मेदवारी सिफारिसमै महिलाको संख्या कम भएको भन्दै नेतृहरूले आक्रोशसमेत व्यक्त गरिररहेका छन्। तर कतिपय महिला नेतृहरूले समानुपातिक तर्फबाट सांसद बन्न सहज भएकाले प्रत्यक्षतर्फ चुनाव लड्न अनिच्छा देखाएको आरोप पनि लाग्दै आएको छ।

संविधानले समानुपातिक समावेशीको सिद्धान्तअनुरूप ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ। त्यस कारण दलहरूले अधिकांश महिलालाई समानुपातिक निर्वाचन प्रणालीबाट समेट्ने गरेका छन्। तर केही महिला नेतृहरूले प्रत्यक्ष चुनाव लड्ने तयारी गरिरहेका छन्। प्रतिनिधिसभाका १६५ सिटमध्ये नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट १७ जना महिला नेतृले टिकट पाउने सम्भावना छ। यो सामग्री प्रत्यक्ष तर्फ चुनाव लड्ने तयारीमा रहेका नेतृ र उनीहरूको निर्वाचन क्षेत्रको लेखाजोखामा केन्द्रित छ। 

कांग्रेसका ६ नेतृ चुनाव लड्ने तयारीमा
सत्तारुढ नेपाली कांग्रेसबाट ६ जना नेतृ प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र काठमाडौं–३ बाट टिकट पाउने सम्भावना बोकेकी अम्बिका बस्नेत समानुपातिकमा परेका छन्। तीबाहेक ६ जना नेतृ चुनावी मैदानमा उत्रने तयारीमा छन्।

corrent noodles
Metro Mart

महालक्ष्मी उपाध्याय ‘डिना’
कांग्रेस सह–महामन्त्रीसमेत रहेकी डिनाको नाम मकवानपुर–२ बाट सर्वसम्मत सिफारिस भएको थियो। उनी सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छिन्। उनी २०७४ मा समेत सोही क्षेत्रबाट चुनाव लडेकी थिइन्। उनी एमाले उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन्। खतिवडा अहिले नेकपा एसमा आबद्ध छन्। उनी यस पटक मकवानपुर–१ बाट चुनाव लड्नेछन्। अघिल्लो निर्वाचनमा खतिवडा ४६ हजार ४८१ मत ल्याएर विजयी हुँदा डिनाले ३४ हजार ९० मत प्राप्त गरेकी थिइन्। मकवानपुर–२ मा दलहरू एकल प्रतिस्पर्धामा जाँदा एमाले बलियो देखिन्छ।

तर सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा गणित डिनाको पक्षमा छ। मकवानपुर–२ मा समेटिएका स्थानीय तहका वडाअध्यक्षहरूले प्राप्त गरेको मतलाई आधार मान्दा एमालेले ३६ हजार ८६६ मत प्राप्त गरेको थियो। कांग्रेसले ३४ हजार २४० मत प्राप्त गर्दा माओवादीले २२ हजार ६०७ मत, नेकपा एसले २ हजार ७१९ र राप्रपाले १ हजार ५३६ मत ल्याएको थियो। यो निर्वाचन क्षेत्रमा गठबन्धनको मत ५९ हजार ५६६ मत हो।

चित्रलेखा यादव
कांग्रेसबाट प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा रहेकी अर्की नेतृ हुन्, चित्रलेखा यादव। अघिल्लो पटक समानुपातिक तर्फबाट सांसद बनेकी यादव यस पटक प्रत्यक्ष चुनाव लड्ने तयारीमा छिन्। कांग्रेसकी पूर्वकोषाध्यक्षसमेत रहेकी यादव सिराह–२ बाट चुनाव लड्ने तयारीमा छन्। यो क्षेत्रमा २०७४ मा माओवादी केन्द्रका सुरेशचन्द्र यादव निर्वाचित भएका थिए।

यादवले २० हजार १५८ मत ल्याएर विजयी हुँदा तत्कालीन संघीय समाजवादी फोरमका शत्रुघ्नप्रसाद सिंहले १७ हजार २६० र कांग्रेसका रामचन्द्र यादवले १५ हजार ५९७ मत ल्याएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने यो निर्वाचन क्षेत्रमा जसपा बलियो देखिन्छ। तर जसपा सत्ता गठबन्धनमा छ। सोही कारण यादवलाई चुनाव जित्न सहज हुने विश्लेषण गरिएको छ।

स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा समेटिएका वडामा वडाध्यक्षहरूले पाएको मतका आधारमा जसपाले २१ हजार ९७, कांग्रेसले १९ हजार ४७४, माओवादीले ११ हजार ६५८ मत ल्याएका थिए। यस्तै, जनमत पार्टीले ५ हजार १०१, नेकपा एसले ३ हजार ९२३, लोसपाले ९७९ र राप्रपाले २५३ मत प्राप्त गरेका थिए। सिरहा–२ मा गठबन्धनको मत ५६ हजार १५२ हो।  

सीतादेवी यादव
कांग्रेसकी पूर्वकोषाध्यक्ष सीतादेवी यस पटक पनि प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन्। उनी अघिल्लो पटक समानुपातिक तर्फबाट सांसद बनेकी थिइन्। उनले सिरहा–३ बाट चुनाव लड्ने तयारी गरेकी छन्। तर उनीसँगै उनका छोरा डा. सुवासचन्द्र यादव पनि प्रतिस्पर्धामा छन्। यादवले छोरालाई अघि सार्ने सम्भावना पनि छ। उक्त क्षेत्रमा सिरहाका पूर्वसभापति रामचन्द्र यादवले पनि दाबी गरेका छन्। यादवको निर्वाचन क्षेत्र सिरहा–२ हो।

सिरहा–२ बाट अघिल्लो पटक चुनाव लडेका रामचन्द्र तेस्रो भएका थिए। सिरहा–३ मा अघिल्लो निर्वाचनमा एमालेका लीलानाथ श्रेष्ठ विजयी भएका थिए। उनले २३ हजार २७२ मत ल्याएर विजयी हुँदा तत्कालीन संघीय समाजवादी फोरमका अशेश्वर यादवले २१ हजार २२० र कांग्रेसका अमर रेग्मीले ११ हजार ७७८ मत प्राप्त गरेका थिए। यो क्षेत्रमा अघिल्लो पटक तेस्रो बनेको कांग्रेस यस पटक सत्ता गठबन्धनको मतका कारण बलियो अवस्थामा छ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा एकल प्रतिस्पर्धा हुँदा एमाले नै बलियो देखिन्छ। एमालेले २० हजार ३२८ मत पाउँदा कांग्रेसले १८ हजार २६, जसपाले १४ हजार ८९३, माओवादीले ९ हजार ४८१ नेकपा एसले ६ हजार २७४, जनमत पार्टीले १ हजार ५७७, राप्रपाले ९५४ र लोसपाले २५८ मत प्राप्त गरेका थिए। यो क्षेत्रमा गठबन्धनको मत ४८ हजार ६४७ मत हो।

प्रकाशित: Sep 23, 2022| 12:46 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्