काठमाडौं- संविधान दिवसका उपलक्ष्यमा नेकपा एमालेले काठमाडौंमा शनिबार बिहान पैदलयात्रा आयोजना गरेको छ। एमालेले संविधान दिवसलाई जनस्तरबाटै राष्ट्रिय पर्वका रूपमा मनाउने उद्देश्यले असोज १ गते पैदलयात्रा आयोजना गरेको हो।
उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट बिहान ७ बजे पदयात्रा सुरू भएको हो।
'सात दशक लामो संघर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको संश्लेषण- संविधान र लोकतान्त्रिक गणतन्त्र'नाराका साथ फरक शैलीमा पदयात्रा कार्यक्रम गरेको हो। संविधान दिवस साझा राष्ट्रिय दिवस भएको भन्दै कार्यक्रममा सहभागीलले पार्टीको झण्डा, ब्यानर नबोकी नेपालको राष्ट्रिय झण्डा र नक्सा बोकेका छन्।
आफूले आयोजना गर्ने पदयात्राअन्तर्गत एमालेले मर्निङवकामा सहभागी हुन यातायात क्षेत्रका सम्पूर्ण नेतृत्व तथा श्रमिकलाई आह्वान गरेको छ।
पदयात्रा टोली बसन्तपुरमा पुगेपछि अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यतालिका छ। संविधान निर्माण, यसको कार्यान्वयन, संरक्षण र सम्बर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको एमालेले संविधानप्रति आम नागरिकको अपनत्व बढाउने र संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने परम्परालाई विशेष महत्व दिएको जनाएको छ।