काठमाडौं- गायक शिव परियारले यही भदौ २२ गते राति लेखेको एक स्टाटसका केही शब्द र वाक्यले सामाजिक सञ्जाल निकै ततायो। सिंगो कला क्षेत्रमा लागेका स्रष्टाको चेतनाको स्तरमाथि बहस सिर्जना गर्यो। उनीमाथि सामाजिक सञ्जालकर्ता खनिने क्रम रोकिएको छैन। स्टाटसको पहिलो वाक्यमा छ– पेशेवर पीडित भनौदाहरूलाई पनि व्यवस्थित गरी कार्वाही गर्ने कुनै कानुनको धारा होला नि?
उनको यो प्रश्नले नै बुझिन्छ कि गायक परियारलाई कानुनको कुनै ज्ञान छैन। नत्र पीडित कहिल्यै पेशेवर हुँदैनन् भन्ने उनले किन बिर्सिए? जघन्य अपराधमाथि संवेदनशील हुनुको साटो उनी आक्रोशित भएका छन्। यसैगरी गायक परियारले सोही स्टाटसको अन्तिममा लेखेका छन्, ‘नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरूरी देख्दछु।’ बलात्कार जस्तो जघन्य अपराध व्यावसायिक हुन्छ भनेर कसले चिताउनु तर उनले लेखे– बलात्कार व्यवसायको भण्डाफोर। विरोध भएपछि उनले स्टाटस सम्पादन गरे तर अर्को कुनै एक मिडियालाई आफूले लेखेको स्टाटसको खण्डन गर्दै कुनै गल्ती नगरेको समेत भन्न भ्याए।
मानौं पिडकलाई सजाय हुनुपर्छ भन्ने पक्षमा परियार होलान्। या बलात्कारका घटना नदोहोरिनका लागि राज्यले केही प्रभावकारी भूमिका खेलोस् भन्ने अपेक्षा गरेका छन्। तर उनको लेख्ने शैलीका कारण एक गायकको चेतना कति रहेछ भने भेउ पाउन गाह्रो हुँदैन।
संगीत र अभिनय क्षेत्रमा लागेका स्रष्टाले समाजलाई सचेत गराउने हो। तर बलात्कार जस्तो जघन्य अपराधमाथि बोल्ने र लेख्ने कलाकारको चेतनाको स्तर हेर्दा चेतनाको खाँचो देखिन्छ। आभा नामक ट्वीटर प्रयोगकर्ता लेख्छिन्, ‘नाबालिका सर्भाइभरलाई 'पेसेवर पीडित' देख्ने, यौन हिंसालाई 'आइकन' सिध्याउने खेल र पुरुष फसाउने गिरोह देख्ने 'शिव परियार’ जस्ता गायकहरूलाई कमसेकम ‘महिला हिंसामा शून्य सहनशिलता भन्नेहरूले सार्वजनिक बहिस्कार गर्न सक्नुपर्छ। किनकी हिंसाको पक्षपोषण गर्नु पनि हिंसा नै हो।’
हास्यकलाकार सन्तोष पन्तले सन्दीप लामिछानेको बचाउगर्दै ‘राष्ट्रको नै बेइजत भयो’ भनेका छन्। उनले पीडित युवतीको गल्ती नै देखाउँदै भने, ‘कुनचाहिँले उक्साइदियो। सायद दश लाख पैसाका कारण कसैले उक्साइदिएको हो कि।’ पन्तको भनाइ सुन्दा उनी अझै परम्परागत सोचले ग्रसित छन् भन्ने लाग्छ।
सन्तोष पन्तले बोलेको भिडियो सेयर गर्दै सामाजिक सञ्जालमा राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी लेख्छिन्, ‘युएन र राष्ट्रिय सबै भ्याएकाले कुरा सेन्सिटिभ हो। योसम्म बुझ्न जान्नेले यो किन सकिरहेको छैन कि कानुनले भनेको ‘१८ वर्ष मुनिकाको बालिकाको अनुमतिले पनि यदि यौनसम्पर्क गरेको छ’ भने त्यो बलात्कार हो। यस्तो रोगीले गर्दा नै हो समाज उँभो नलागेको।’
संगीत र अभिनय क्षेत्रमा लागेका स्रष्टाले समाजलाई सचेत गराउने हो। तर बलात्कार जस्तो जघन्य अपराधमाथि बोल्ने र लेख्ने कलाकारको चेतनाको स्तर हेर्दा चेतनाको खाँचो देखिन्छ।
बलात्कारजस्तो जघन्य अपराधलाई लिएर पन्त र परियार मात्रै होइन, अन्य कलाकार (अपवादलाई छोडेर) गम्भीर छैनन् भन्दा फरक नपर्ला।
अभिनेता रमेश उप्रेतीले एक अन्तर्वार्तामा बलात्कारलाई लिएर मजाकै गरेका थिए- ‘दाइ म त भिलेन नै खेल्ने भन्छ। किन भिलेन खेल्ने भनेको, भिलेनको त रेप सिन हुन्छ नि, हा हा हा हा हा।’
‘मेरो एउटा साथी छ’ टेलिभिजन कार्यक्रममा चलचित्र निर्माता तथा निर्देशक नारायण पुरीले बोलेको अंश हो, यो। कुराकानी सँगै फुरेको हाँसोलाई ‘हल्का रमाइलो’ भन्दै अभिनेता रमेश उप्रेतीले रोक्ने कोसिस गरेका छन्।
अभिनेता रमेश उप्रेतीको भनाइलाई थप बुझाउने कोसिस गर्न खोजेका पुरीको यो अभिव्यक्तिसँगै रमेश उप्रेती विवादमा तानिएका थिए। उप्रेतीले केही समय अगाडि अर्को एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा भनेका थिए, ‘बलात्कार हुँदा चिच्याउनु पर्छ।’
आफूलाई जोगाउन सकेसम्म मानिस रुन्छ, कराउँछ, चिच्याउँछ। यो विषय उनले भनिरहनु पर्दैन। न उनी कुनै परामर्शदाता हुन्। न कुनै न्याय दिने अदालत हुन्। जुन विषयमाथि ज्ञान छैन त्यस विषयमाथि बोल्नु भनेको सही–गलत छुट्याउन नसक्नु पनि हो।
बलात्कारमाथि उप्रेतीले बनाएको धारणाकै कारण उनीबाट यस्तो अभिव्यक्ति आएको हुनसक्छ। किनकि उनले यस्तो अभिव्यक्ति अघिल्ला कार्यक्रममा पनि दिएका छन्।
पल शाह प्रकरणलाई पनि उप्रेतीले बलात्कार नै होइन भन्ने अभिव्यक्ति दिएका थिए, ‘उनीहरूबीच सम्बन्ध भयो होला। तर, बारबार बलात्कार हुँदै हुँदैन। यो कुरामा म क्लियर छु। पल शाह पीडक हुँदै होइन। उसले त्यति ठूलो क्राइम गरेकै होइन। तर, कहिलेकाहीँ राम्रो मान्छेले पनि परीक्षा दिनुपर्छ।’ यस्तो अभिव्यक्ति दिँदा चौतर्फी आलोचना खेप्नु परेको थियो उनले।
त्यसैगरी पल प्रकरणमा अभिनेत्री पूजा शर्माले सम्मान छ हाम्रो रियल हिरोलाई, सत्यको जित अवश्य हुनेछ’ लेख्दै सामाजिक सञ्जालमा दोषीको बचाउ गरेकी थिइन् र ‘जस्टिस फर पल’ को पोष्टर नै सामाजिक सञ्जालमा लेख्न भ्याइन्।
अर्की अभिनेत्री करिष्मा मानन्धरले पनि ‘स्टे स्ट्रोङ’ लेखेकी थिइन्।
कलाकारितामार्फत कलाकारले सिंगो समाजलाई मार्गदर्शक गरिरहेको हुन्छ। तिनै कलाकार समाजप्रति जिम्मेवार नभएजसरी गम्भीर विषयमाथि पनि हलुका अभिव्यक्ति दिन्छन्, जस कारण कला क्षेत्र नै बदनाम हुन पुग्छ। अधिकारकर्मीहरू यतिखेर महिलामाथि हुने जघन्य अपराधका विरुद्ध एक भई आन्दोलनमा उत्रिएका छन्। बलात्कारीलाई कडाभन्दा कडा सजायको माग गरिरहेका छन्। गायक कलाकार भने बलात्कार जस्तो संवेदनशील विषयमाथि हलुका र रमाइलो अभिव्यक्ति दिइरहेका छन्।
एउटा गायक कलाकारको गीत संगीत र पर्दामा मात्रै भूमिका हुँदैन। तिनको भूमिका समाज र समुदायप्रति हुन्छ र त्यो जहिल्यै सकारात्मक हुनुपर्छ। सस्तो चर्चा बटुल्न बोलिने सस्तो अभिव्यक्तिले कानुनको मात्रै अवहेलना गर्नु होइन सिंगो समाजप्रति नै इमानदार नहुनु हो र आफ्नो चेतनाको स्तर सार्वजनिक गर्नु पनि हो।