शुक्रबार, जेठ १, २०८३

पर्यटकले छुटाउन नहुने गन्तव्य पर्वत

जिल्लामा अग्ला र लामा झोलुङ्गे पुलदेखि बन्जी, स्विङ, जिपलाइनलगायत खेलबाट भरपुर आनन्द उठाउन सकिन्छ।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

कुश्मा- प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन। पर्वत गुमनामको अवस्थामा थियो।

National life

‘परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे’, कुश्मामा होटल व्यवसाय गरिरहेका सूर्य केसीले भने, ‘पोखरादेखि यता कि उता, बागलुङभन्दा टाढा पर्छ हो जस्ता सवालले हैरानै भएर केहीलाई त घर बागलुङ हो, भनिदिन्थेँ, तर अहिले पर्वत नचिन्ने कमै छन्। साहसिक पर्यटनको लागि पर्वत गतिलो गन्तव्य बनेको छ।’ 

जिल्लामा अग्ला र लामा झोलुङ्गे पुलदेखि बन्जी, स्विङ, जिपलाइनलगायत खेलबाट भरपुर आनन्द उठाउन सकिन्छ।

'पर्वत र बागलुङलाई जोडेर बन्जी निर्माण गरिए पनि यसको बढी फाइदा पर्वतलाई नै भएको छ', कुश्माका दिनेश तिवारीले भने, 'यहाँका होटल तथा रेस्टुराँ व्यवसाय फस्टाएका छन् भने गुमनाम पर्वतलाई सबैले चिन्न थालेका छन्।'

बन्जी र स्विङका लागि बनाइएको झोलुङ्गे पुल तरेर कुश्मादेखि पारी बागलुङमा बनेको रिसोर्टमा दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्छन्। पाँच सयको टिकट काटेपछि मात्रै पुलको बाटो रिसोर्ट परिसरमा पुग्न सकिन्छ। त्यहाँ गुलेली पिङ, स्काइचियर, साइकिलिङ, स्काइक्याफेलगायत खेलको मज्जा लिन सकिन्छ। प्रत्येक खेलको चाहिँ बेग्लाबेग्लै पैसा तिनुपर्ने हुन्छ।

'हिजो पोखरा बसेर बिहानै कुश्मा आइकन बन्जी पनि गरिसक्यौँ', रिसोर्ट परिसरमा तस्बिर खिच्नमा व्यस्त धादिङका सुसन तामाङले भने, 'बागलुङ दर्शन गरेर आजै धादिङ फर्कन्छौँ।' धादिङका सुसन तामाङजस्तै अन्य पर्यटक पनि बन्जीमै मस्त देखिन्थे। 'कुश्माको नजिकमा थुप्रै प्राकृतिक तथा धार्मिक महत्वका आकर्षक गन्तव्य छन्', सञ्चारकर्मी अगन्धर तिवारीले भने, 'स्थानीय सरकारको उदासिनता र उचित प्रचारप्रसार नहुँदा बन्जी आइपुग्ने पर्यटक त्यहाँ सम्मपुग्न सकेको देखिँदैन।'

दुर्लुङकोट 

कुश्मादेखि दुर्लुङ गाउँपुग्ने बाटो पहिलेजस्तो अप्ठ्यारो छैन। हरियाली वनभित्रको नागबेली कालोपत्रे सडक हुँदै १५ मिनेट यात्रा गरेपछि सुन्दर गाउँ, दुर्लुङ पुग्न सकिन्छ। गाउँ उक्लँदै गर्दा वरैबाटडाँडाको टुप्पोमा अवस्थित दुर्लुङकोट भूमे मन्दिर पुगिन्छ। बाइसे, चौबिसे राजाको पालादेखिनै महत्त्वपूर्ण मानिएको दुर्लुङकोट भूमे मन्दिरमा पुगी पूजाआजा गरेमा मनोकामना पूरा हुने जनविश्वास छ।

'हरेक वर्ष बडादसैँ, चैते दसैँ र उभौलीमा पूजाआजादेखि बलि दिने गरिएको छ', दुर्लुङकोट भूमे मन्दिर व्यवस्थापन समितिका सदस्य प्रितम गुरुङले भने, 'धार्मिक तथा ऐतिहासिक महत्वको यो ठाउँ प्राकृतिक दृष्टिले समेत अर्थपूर्ण छ।'

उनले भने, 'दुर्लुङकोटबाट म्याग्दी, बागलुङ, कास्की, पाल्पा, स्याङ्जा र पर्वतलाई एकै पटक नियाल्न सकिन्छ। यहाँबाट धौलागिरि, धौलाशिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृङ्खला पनि देख्न सकिन्छ।' केही वर्षदेखि दुर्लुङ पुग्ने पर्यटकलाई लक्ष्य गरेर होमस्टे पनि सञ्चालनमा ल्याइएको छ। होमस्टेमा पुग्ने पर्यटकले गाउँको कला, संस्कृति र खानपानको पनि मज्जा लिन सक्नेछन्। 

मोदीबेनी दिव्यधाम

दामोदर कुण्डबाट अविरल बग्दै आएको कालीगण्डकी नदी र माछापुच्छ्रे हिमशृङखलाबाट बगेर आएको मोदिनदीको सङ्गमस्थलमा भगवान नृसिंहको पुरानो मन्दिर छ। विसं १८९० मा निर्मित यस मन्दिर क्षेत्रलाई मोदीबेनी दिव्यधाम भनेर पनि चिनिन्छ। कालीगण्डकीमा मात्र पाइने शालीग्रामलाई नृसिंह भगवानको अवतारका रूपमा पूजाआजा गर्ने गरिएको छ।

गङ्गा स्नान गरेपछि पवित्र भइने मान्यताका कारण मोदी र कालीनदीमा स्नानका लागि तीर्थाल आउने गर्छन्। 'दाहासंस्कारका लागि पनि मोदीबेनी दिव्यधाम उत्तम मानिन्छ', नृसिंह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष केशवदास बैरागीले भने, 'पहिले भारतबाट आउने धेरै तीर्थालहरू यहाँ आइपुग्थे तर हिजोआज त्यो सङ्ख्या ज्यादै कम छ।' 

यातायातको सहज पहुँच नहुँदा भारतबाट मुक्तिनाथ र दामोदरकुण्ड हिँडेका तीर्थालु यहाँ एक दिन बास बसेर भोलिपल्ट बिहानै यात्रामा निस्कन्थे। यहाँ एक सय आठ तुलसीको बोट, गणेश मन्दिर, शिवमन्दिर, हनुमान मन्दिरलगायतका संरचना निर्माण गरिएको छ। कुश्मा–मुडिकुवा पुल छेउको बाटोदेखि दश मिनेटमा नै मोदीबेनी दिव्यधाम पुग्न सकिन्छ।

गुप्तेश्वर गुफा

बन्जीस्थलबाट मात्र पाँच मिनेटमा गुप्तेश्वर गुफा पुग्न सकिन्छ। यो गुफा डेढ किलोमिटरभन्दा बढी लामो र सात तला भएको अलौकिक गुफा हो। 'धेरै गुफा ओरालो मुखतर्फ फर्किएर बनेका हुन्छन्, तर गुप्तेश्वर गुफा ओरालो नभई उकालो मुख फर्किएको छ।' गुप्तेश्वर धार्मिक पर्यटन प्रवर्द्धन संस्थाको अध्यक्ष पृथ्वीनारायण शर्माले भने, 'शिव-पार्वतीको मिलन भएको ठाउँका कारण पनि यस गुफाको महत्त्व विशेष छ।'

यस गुफामा बालाचतुर्दशी, महाशिवरात्रि, हरिबोधनी एकादशी, हरिशयनी एकादशी, माघे सङ्क्रान्तिलगायतका चाडपर्वमा विशेष मेला लाग्छ। गुफाभित्र भगवान् शिवका दसौँ पाउँ, विभिन्न देवीदेउताका मूर्ति, शिवलिङ्ग शिवपञ्चाङ्ग, नाग र पाँच पाण्डवका मूर्ति देख्न सकिन्छ। गुफाको महत्त्वलाई प्रचारप्रसार गर्दै उल्लेख्य पर्यटक भित्र्याउने उद्देश्यले १५ रोपनी जग्गामा ७८ फिट अग्लो शिव-पार्वतीको मूर्ति, सिसमहल र मन्दिर निर्माण भइरहेको छ। 

अल्पेश्वर गुफा

पहिलो नेपालकै अग्लो र लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुलबाट पाँच मिनेटको दूरीमा जङ्गलको बीचमा अल्पेश्वर गुफा अवस्थित छ। बजारबाट एकान्त मन पराउनेका लागि अल्पेश्वर गुफा पहिलो रोजाइ बन्न सक्छ। फराकिलो क्षेत्रफलमा रहेका हरियाली वनभित्र चराचुरङ्गीको चिरबिरले मनलाई आनन्दित बनाउने गर्छ। विसं २०६४ मा कटुवा चौपारीका केही युवाले गुफा पत्ता लगाएका थिए। गुफाको मुख्य प्रवेशद्वार कटुवा चौपारीबाट छिरेर नौ सय मिटरको दूरी पार गरेपछि मोदीखोलामा निस्कन सकिन्छ। 

तीन तला रहेको गुफाभित्र प्राकृतिक तालतलैया र छहरा  छन्। एडभेन्चर मन पराउनेका लागि यस गुफा उत्कृष्ट गन्तव्य भएको अल्पेश्वर गुफा पर्यटकीय केन्द्र पर्वतका पूर्व अध्यक्ष नारायण अधिकारीको भनाइ छ। उनका अनुसार यस गुफामा विभिन्न प्रजातिका २० हजारभन्दा बढी चमेरा बस्छन्। 'सदरमुकामबाट नजिकमा भएर पनि ओझेलमा परेको छ', उनले भने, 'चुन ढुङ्गाबाट बनेका ३३ कोटी देवीदेउताको मूर्ति जताततै देख्न सकिन्छ । कम्तीमा दुई घण्टा यहाँभित्र मज्जाले भुल्न सकिन्छ।'​

सहस्रधारा 

सहस्रधारा पुग्न कुश्माबाट यातायातको साधनमा जम्मा १५ मिनेट लाग्छ। बाह्रै महिना पहाडबाट खस्ने झरना हेर्न र नजिकै रहेको लक्ष्मीनारायणको मन्दिरमा पूजा गर्न केही पर्यटक आउने गरेका छन्। तर यसको प्रचारप्रसार नहुँदा पर्यटकीय सम्भावना भएर पनि ओझेलमै परेको छ। कालन्जर पहाडमा शिवजी बस्ने, पार्वती गुप्तेश्वर गुफामा तपस्या बस्ने र सहस्रधारामा स्नानका लागि जाने गरेको किम्वन्दती छ। यसलाई शिव र पार्वतीको क्रिडास्थलका रूपमा लिने गरिएको छ।

धार्मिक क्षेत्र कालन्जर पर्वतबाट बग्दै आएको पानीको छहरा सहस्रधारामा आएर झरनाको रूप लिएको स्थानीय बताउँछन्। केही वर्षअघि स्थानीयस्तरबाट सह्रसधारा दिव्यधामलाई धार्मिक तथा पर्यटकीयस्थलका रूपमा विकास गर्ने सोचले महायज्ञको आयोजना गरिएको थियो।

सङ्कलित रकमले एक सय आठ गौधारा निर्माण, शिवको मूर्ति, मन्दिरलगायत पूर्वाधारको समेत निर्माण गरियो तर, उचित प्रचारप्रसार र व्यवस्थापन नहुँदा सोचेअनुरूप पर्यटक भने भित्रन सकेका देखिँदैन। कुश्मामा रहेका अग्ला र लामा झोलुङ्गे पुल, बन्जी, जिपलाइनलगायत साहसिक खेलले पर्वतको पर्यटनमा महत्त्वपूर्ण भूमिका खेलेको छ। अब यहाँ आइपुग्ने पर्यटकलाई अन्य प्राकृतिक तथा धार्मिक महत्त्व बोकेका पर्यटकीय गन्तव्यसम्म पुर्याउने वातावरणको सिर्जना गरिनु आवश्यक छ।

प्रकाशित: Sep 08, 2022| 10:42 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।