एजेन्सी- युरोपको उत्कृष्ट खेलाडीमा रियल मड्रिडको वर्चश्व रहेको छ । उत्कष्ट खेलाडीको फरवार्ड तर्फ पुर्व रियल खेलाडी रोनाल्डोले उपाधि जित्दा, डिफेन्डर तर्फ रियलकै कप्तान सर्जियो रामोस, गोलरक्षकमा कलर नाभास र सर्वोत्कृष्ट खेलाडीमा लुका मोड्रिचले उपाधि जितेका छन् ।
रामोसले आफ्नै क्लबबाट खेल्दै आएका राफेल भराने र मार्सेलोको चुनौती पन्छाउँदै उपाधि जितेका हुन् । रामोसले रक्षात्मक रुपमा मात्र नभएर आक्रमणमा पनि सहयोग पुर्याएका थिए । रामोसले मतदानका क्रममा १ सय ८४ अंक जोडेका थिए ।
दोस्रो स्थान हासिल गरेका भरानेले १ सय ६७ अंक जोडे भने तेस्रो स्थानका मार्सेलोले १ सय ४५ अंक प्राप्त गरे । चौथो स्थानका जिओर्जियो किएलिनीले ४० अंक हासिल गर्दा लिभरपुलका डेजान लोभ्रनले ३७ अंक पाए । बार्सिलोनाका जेरार्ड पिके १० अंकका साथ दशौँ स्थानमा रहे ।
त्यस्तै गोलरक्षक नाभासले ब्राजिलका गोलरक्षक एलिसन बेकर र इटालियन गोलरक्षक जियानलुइजी बुफोनलाई पछाडी पारे । उनले रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन नाभासले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
नाभासले रक्षात्मक रुपमा बलियो प्रस्तुति दिएपछि विपक्षी आक्रमण विफल पार्न रियललाई सहज भएको थियो । नाभासले मतदानमा २ सय २२ अंक हासिल गर्दै पहिलो स्थान हासिल गरेका हुन् । दोस्रो स्थानमा हाल लिभरपुलमा रहेका गोलरक्षक एलिसन बेकर १ सय ९७ अंकसहित छन् । उनले गत सिजन एएस रोमाबाट खेलेका थिए । तेस्रो स्थानमा बुफोनको ९२ तथा चौथो स्थानका मार्क आन्देर टेर स्टेगनले ४७ अंक मात्र जोड्न सके ।
मतदानका लागि युरोप भरिका ८० क्लबका प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकार सबैले उत्कृष्ट तीन खेलाडी चुन्ने प्रावधान रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४