काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले जेष्ठ नागरिकलाई चाडवाड मनाउने खर्चसमेत वितरण गर्ने भएको छ।
नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कार्यभार सम्हालेको सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै जेष्ठ नागरिकलाई चाडवाड खर्च वितरण गर्ने घोषणा गरेका हुन्। नगरपालिकाले आगामी दशै अगाडि जेष्ठ नागरिकलाई चाडवाड खर्च वापत एक हजार रुपैया वितरण गर्ने जनाएको छ।
नगरपालिकाले जेष्ठ नागरिकका लागि निशूल्क घरघरमै स्वास्थ्य परीक्षणको पनि व्यवस्था मिलाएको छ। यसबाहेक विशेषज्ञ सेवा कम्तिमा वर्षमा एक पटक पाउने गरी विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर संचालनगर्ने तयारी गरेको छ। नगरप्रमुख कार्कीले भने, ‘मेयरसँग जेष्ठ नागरिक घरदैलो निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत सबै वडाका जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँचका लागि वडा नम्बर–९ बाट सुरु गरिएको छ।’ नगरपालिकाले जेष्ठ नागरिकलाई खाजा, जेष्ठ नागरिक भवनतथा जेष्ठनागरिक पार्कका लागि पनि गृहकार्य सुरु गरेको जनाएको छ।
यस्तै नगरपालिकाले किसान कार्डको व्यवस्था गर्दै वर्ष र बाढीबाट क्षति बेहोरेका किसानलाई क्षतिपूर्ति र अर्गानिक कृषि व्यवसाय प्रवद्र्धनका लागि अनुदानको व्यवस्था गर्ने पनि घोषणा गरेको छ। स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मेडिकल अधिकृत थपेको नगरपालिकाले नगर अस्पतालको १५ शैयाको अस्पताल निर्माणका लागि संघीय सरकारबाट २० करोड लिएर काम अघि बढाएको छ। शिक्षातर्फ सुधारका लागि नगर शिक्षा ऐन संशोधन गरी शिक्षा ऐन २०२८ सँग मिलाएको नगरपालिकाले एक शिक्षक एक ल्यापटप अभियान संचालन गरेको छ।
कार्कीले भने, ‘अभियान अन्तर्गत २०९ शिक्षकलाई ल्यापटप वितरण गरिएको छ। असामुदायिक विद्यालयको दरबन्दी अभावको समस्या समाधानका लागि नगरपालिकाले आन्तरिक स्रोत बाटै उच्च माविमा आइसीटी र खेलकुद लगायतका शिक्षक व्यवस्था गरेको छ।’ विद्यालयको दर्ता र नविकरणवापतको शुल्कमा २५ प्रतिशत घटाएको कार्कीले बताए। सामुदायिक विद्यालयमा इसीडी कक्षा संचालनका लागि नगरपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन भत्ता, विद्यालय कर्मचारीलाई थप पारिश्रमिक र शिक्षकहरुलाई दिवा खाजाको व्यवस्था गरेको जनाएको छ।
यस्तै नगरपालिकाले नगरभित्रको फोहोरको परिमाण घटाउन स्रोतमै फोहोरको वर्गीकरण गरी छुट्टाउने नीति लिँदै नगरभित्रै फोहोर व्यवस्थापनको तयारी गरेको हो। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन चुनौति बनिरहेको भन्दै नगरपालिकाले नगर भित्रै फोहोर व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएको नगरप्रमुख कार्कीले जानकारी दिए। यस्तै नगरपालिकाले नगरसभाबाटै पालिकालाई खेलकुद नगरी बनाउने प्रस्ताव पारित गरेको भन्दै अब खेल विशेषका एकेडेमी निर्माणका लागि सघंीय सरकारसँग समन्वयको काम थालेको र निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने नीति लिएको जनाएको छ।