आइतबार, असार २८, २०८३

ढुंगेधारा [बाँकी]

 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४


राज सरगम 

तस्बिर ः दिनेश श्रेष्ठ 

(फोटोहरू मेलमा राज सरगमको आइडीबाट।)

काठमाडौं ः ८० वर्षीय मुच्छेबहादुर अमात्यको घर पाटन सुन्धरास्थित नुगः हितिको ठिक पछाडि छ । सुन्धारा नुगः हितिलाई बुढ्यौलीका दिनहरूमा पनि घरको झ्यालबाट चिहाइरहन्छन् उनी । तन्नेरी बेला हिउँदका दिनहरूमा पनि ढुंगेधारामा पानी आएको देखेका थिए अमात्यले । तर पछिल्लो तीस वर्षदेखि ढुंगाधारा सुक्यो । उनी भन्छन्, ‘अहिले वर्षातका दिनमा पानी आएजस्तो गर्छ फेरि हराउँछ ।’

नुगः हितिको सुन्धरालाई त सुनको लेपन र देवीदेवताको आकृतिले पनि सजाइएको छ । यो धारामा पानी लिन जाने, नुहाउन जाने र धारामा पूजापाठ गर्न जाने गर्छन् स्थानीयहरू । जब पानी सुक्दै गयो स्थानीयहरु नुगः हिति आउन पातलिएको लाग्छ अमात्यलाई । सोही हितिलाई युवा पुस्तालाई खासै चासो छैन । 

तारा अमात्य उनै मुच्छेबहादुरको छोरी हुन् । गर्मी बाहेक हिउँदका दिनमा नुहाउन गएकी छोरीलाई चिसो लाग्छ भन्दै बाबाले हप्काउने गरेको हिजै जस्तो लाग्छ उनलाई । तर अहिले ढुंगेधारा सुकेर गयो । धाराको संरचना पनि फेरियो । 

तारा कम्मरमा पानीको घैला राखेर धारामा पुग्थिन् । पानी भर्थिन् । दिनहरू वित्दै गएपछि धारामा लामो–लामो लाइन लाग्ने समय आयो । घरहरू बाक्लिदै गए । एक घैला पानी भर्न मुस्किल हुन थाल्यो । बिस्तारै पानी नै सुकेर गयो । ताराका लागि ढुंगेधारा सपना जस्तै भयो । 

‘हाम्रो बाल्यकालसम्म पनि पानी आउँथ्यो अहिले त ढुंगेधारा नै हराउन थाल्यो’, उनै तारा अमात्यले भनिन् ।  

यी दुई पुस्ताले सुनाएको पाटनको सुन्धारा नुगः हिति नयाँ पुस्तालाई एकादेशको कथा जस्तो लाग्छ । 

ललितपुरमा मात्रै ८० वटा हिति छन् । त्यसमा थुप्रै हितिहरू हराई सकेको बताउँछन् पानी प्रणाली र सांस्कृतिक परम्पराका ज्ञाता तथा दिगो सहरी विकासका योजनाकार समेत रहेका पद्यसुन्दर जोशी । उनका अनुसार पाटनको सुन्धारा अर्थात नुगः हिति लिच्छिविकालिन हिति हो । त्यो हितिको मुहानचाहीँ पाटन औधोगिक क्षेत्र रहेको बताउँछन् जोशी । उनले भने, ‘त्यो सुन्धाराको सबैभन्दा ठूलो समस्या के हो भने, पाटन औधोगिक क्षेत्रमा ठूलठूला इनार बनाएर त्यहाँको उद्योगहरूले पानी तानिदिएपछि ढुंगेधारामा पानीको समस्या देखिएको हो । हिउँदमा त पानी नै आउँदैन थियो बर्खामा पनि उद्योगको कार्यलय समयमा पानी आउँदैन थियो । राति चाही पानी आउँथ्यो । किनकी दिनभरि उद्योगले पानी तान्ने भएकोले नुगः हितिमा पानी आउँदैन थियो । राति पानी तान्न छोडेपछि पानी आउँथ्यो ।’

जोशीको अध्ययनका अनुसार यो समस्या समाधान गर्न स्थानीयहरूले डेढ दशक अगाडि औधोगिक क्षेत्रका विरुद्ध आन्दोलन नै गरेको थियो । पाटन औधोगिक क्षेत्रका २० भन्दा बढी इनारलाई पुर्ने र भत्काउने कार्य पनि भएको थियो । तर, समुदाय सधैंभरी लडिरहन सक्दैन । उनीहरूको पर्खाल भित्रका ‘डिप बोरिङ’ गर्ने भन्दै जनतासँग सहमति ग¥यो । 

नुगः हितिको नजिकै रहेको अर्को सिन्चाः हिति छ । यसको मुहान पनि उही औधोगिक क्षेत्र नै हो । स्थानीय भाषामा मुहान भएको ठाउँलाई न्याख्योः चः पनि भनिन्छ । 

‘सबैभन्दा पुरानो हिति पाटनको मंगलबजारको मंगः हिति हो जुन ईस्वी संवत ५७० मा बनाइएको थियो’, उनले भने, ‘१५ सय वर्षअगाडि मानदेवका नाति फारवीले बनाएका इतिहासमा उल्लेख छ।’ 

अर्को नाग बहालसँगै रहेको ‘तापा हिति’, छ ।

ललितपुरमा मात्रै वार्षिक करिब २ करोड ५० लाख लिटर पानीको अभाव हुने अनुमान गरएको छ। यसबाहेक बाढीका कारण मुलुकभर सबैभन्दा बढी क्षति बागमती प्रदेशमा हुने गरेको तथ्याङ्क जोशी बताउँछन् । भने, ‘हामी हिति प्रणालीको संरक्षण र पुनरुत्थान गर्न सक्यौं भने वर्षातको पानी व्यवस्थापन घरायसी उपयोगमा पानी व्यवस्थापन, सतहगत पानी र सिंचाई व्यवस्थापन र प्रयोग भइसकेको पानी व्यवस्थापनलाई एकपटक सम्बोधन गर्न सकिन्छ।’

०००

काठमाडौं उपत्याकामा भने ५ सय ७३ वटा हिति रहेको छ, जसमा १६ प्रतिशत हिति हराइसकेको अवस्थामा पुगेको बताउँछन् जोशी । उनका अनुसार ४९ प्रतिशत हिति सुकेको अवस्थामा छ र ३५ प्रतिशत हितिमा बर्खाको समयमा थोरैथोरै पानी आउने गरेको छ । 

३५ प्रतिशत अधिकांश हितिमा बर्खामा पानी आउँछ भने हिउँदमा अत्यन्तै कम आउँछ । 

तत्कालीन समयमा उपत्यकामा पानी ल्याउने बूढानीलकण्ठ, बागेश्वरी र टीकाभैरव तीनवटा ठूला सिस्टम थिए, जसमा राजकुलोमार्फत पानी ल्याउने गरिन्थ्यो। थहिति, कोहिति र मरुहिति गरी तीन हिति प्रख्यात छन्। यी तीनवटै हिति संरक्षणको अभावमा अलपत्र अवस्थामा छन्। कहीँ मुहान सुकेको छ भने कतै फोहोर पानीको दह छ। कहीँ कतै भने सानो पानी आइरहेको देख्न सकिन्छ।

जोशीका अनुसार हिति मासिनुको कारण सहरीकरण नै हो । पुरानो बस्तीमा सीमित नभएपछि बस्ती बढेर पहाडको फेदीसम्म पुग्यो । पानीको जलभण्डारकै वरिपरि व्यक्तिगत इनार र घर बनाउने गरियो । पुरानो राजकुलोलाई भत्काएर बाटो बनाउन थालियो । भवन र मल निर्माण गर्ने काम भयो । 

काठमाडौं सुन्धाराको ढुंगेधारा सुक्नुको कारण काठमाडौं मल बनाउने काम भएसँगै सुकेको बताउँछन जोशी । उनी भन्छन्, ‘फलामको ‘सिट पाइल’ गाढेको थियो, जसले हितिको डुँढ भत्काउने र विगार्ने काम भयो । त्यसकारण पानी नआएको हो।’ 

अरबौं खर्च गरेर धरहरा बनायो तर हितिलाई संरक्षण गरेर अगाडि लैजानु पर्छ भनेर सरकारको ध्यान गएन भन्छन्, जोशी । उनी भन्छन्, ‘स्थानीयहरुको सहभागिता निकै महत्वपूर्ण हुँदोरहेछ । बाहिरबाट आएर शासन सत्ता समालेकाहरूले अपनत्व देखाउन सकेनन् ।’ 

हिति र पोखरी उपत्यकाका गहना मात्र होइनन्, पानी सञ्चय अथवा प्रवाह गर्ने थलो र वातावरणीय सन्तुलनका आधार पनि हुन्। तर, ती संकटोन्मुख छन्। तिनको खोजीनीति हुन सकेको छैन। जोशी भन्छन्, ‘हितिलाई बचाउनु पर्छ भन्ने जनचेतना चाहीँ आयो तर प्रभावकारी पहल हुन सकेको छैन ।’  

हिति अर्थात काठमाडौं सभ्यताको पानी प्रणाली सांस्कृतिक परम्पराको संरक्षणमा लागिएन भने उपत्यकामा पानीको ठूलो हाहाकार हुनेछ बताउँछन जोशी । जोशी भन्छन्, ‘हाम्रो हिति प्रणाली, भावी पिंढी र संसारको सबैभन्दा आधुनिक प्रविधिको लागि पनि अकल्पनीय उदाहारण हो।’

जोशीले त ‘हिति प्रणालीः इतिहास, वर्तमान, भविष्य’ नामक बृहत अनुसन्धनात्मक कृति नै लेखेका छन् । 

हिति प्रणालीको सबैभन्दा पुरानो लिखित प्रमाण किराँत र लिच्छवी काल (१७ सय वर्ष पहिले) अङ्कित गरिएको पाइन्छ। आधा शताब्दी अघिसम्म नेपाल भनेर चिनिने काठमाडौं उपत्यका हालको जनसंख्या विस्फोट हुनु अघिसम्म बास्तुकला र संस्कृतिको विश्वस्तरको जिउँदो नमुना थियो। केही दशक यता खासगरी विस २००७ सालको खुल्लापनपछि  र अझ २०४६ सालको परिवर्तन पछि योजनाबिहिन र अनियन्त्रित आप्रवासनसँगै यहाँका कलाकौशल र सम्पदाहरू उपेक्षामा परेका कुरा गरे जोशीले। 

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।