बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज हरितालिका तीज, पशुपतिसहितका शिवालयहरुमा दर्शनार्थीको भिड

आज हरितालिका तीज, पशुपतिसहितका शिवालयहरुमा दर्शनार्थीको भिड

शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत दुई वर्षमा सामूहिक भेला र पशुपतिलगायतका मन्दिरहरु बन्द गरिए पनि यस वर्ष खुला गरिएका छन्। दुई वर्षपछि पशुपतिलगायतका शिवालयहरु खुला गरिएपछि बिहानैदेखि दर्शनार्थीहरुको बाक्लो भिड लागेको छ।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

काठमाडौं- भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ। आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ।

शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत दुई वर्षमा सामूहिक भेला र पशुपतिलगायतका मन्दिरहरु बन्द गरिए पनि यस वर्ष खुला गरिएका छन्। दुई वर्षपछि पशुपतिलगायतका शिवालयहरु खुला गरिएपछि बिहानैदेखि दर्शनार्थीहरुको बाक्लो भिड लागेको छ। 

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए।

‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ’, उनले भने। स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उनले जानकारी दिए।

अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन्। समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन्। विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन्।

तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन्।

सोमबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।



प्रकाशित: Aug 30, 2022| 05:50 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।