काठमाडौं- भारतमा सञ्चालित नेशनल डिफेन्स कोर्स-६२ का प्रशिक्षार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन्। आइतबार नेपाल आइपुगेको टोलीले सोमबार रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री देउवासँग बालुवाटारमा र र अर्थमन्त्री शर्मासँग सिंहदरबारमा भेट गरेका हुन्।
उक्त टोलीले प्रधानमन्त्री देउवासँग भेट गर्नुअघि नेपाली सेनाको मुख्यालय जंगी अड्डाको भ्रमण गरेको थियो। भ्रमणको क्रममा भ्रमणदलका सदस्यहरु नेपाली सेनासँग सम्बन्धित विषयहरुमा आधारित प्रस्तुतिकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भएको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ। सोही क्रममा, उक्त भ्रमणदलका प्रमुख एयर भाइस मार्सल तेज वीर सिंहले प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका थिए।
उक्त भ्रमणदलले मंगलबार र बुधबार पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टर, काठमाण्डौं दरबार स्क्वायर, लुम्बिनी, नाम्चे बजार तथा काठमाण्डौं र पोखरामा अवस्थित विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। उक्त भ्रमण टोली भदौ १६ गते बिहीबार स्वदेश फिर्ता हुने कार्यक्रम छ।
विगतदेखि नै प्रचलनमा रहेको यस प्रकारको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप सुदृढ पार्नुका साथै आपसी सम्बन्धलाई थप उचाईमा पुर्याउन मद्दत पुग्ने विश्वास नेपाली सेनाको छ।