काठमाडौं– प्रतिनिधिसभाको सोमबार बसेको बैठक सांसदहरू उपस्थित नहुँदा कोरम नपुगेपछि स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले गणपूरक संख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
सभामुख सापकोटाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न खोज्दा प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले गणपूरक संख्या नभएको भन्दै ध्यानाकर्षण गराएका थिए।
सभामुख सापकोटाले तीन मिनेटसम्म घन्टी बजाएर बैठकमा उपस्थित सांसद संख्या गणना गर्न निर्देशन दिएका थिए। गणनाका क्रममा बैठक सञ्चालनका लागि गणपूरक संख्या पुग्न कम्तीमा ६९ सांसद उपस्थित हुनुपर्नेमा ४५ जना मात्र उपस्थित भएको पाइएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।