काठमाडौं– नेकपा एमाले महासचिव शंकर पोखरेलले आगामी ४ मंसिरको प्रदेशसभा र संघीय चुनावमा निर्वाचन क्षेत्र विशेषमा अन्य दलहरुसँग तालमेल हुन सक्ने भए पनि गठबन्धनको पक्षमा भने नरहेको बताएका छन्। एमाले देशव्यापी रूपमा कुनै पनि दलसँग गठबन्धन नगरी चुनावमा जाने उनको भनाइ छ।
एमालेको प्रचार विभागले सोमबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने, ‘कुनै प्रकारको गठबन्धनको पक्षमा छैनौं। आफ्नो नीतिका आधारमा निर्वाचनमा जान्छौं।’ एमाले तालेमलका लागि खुला रहे पनि त्यो स्थानीय स्तरमा मात्र हुने उनले जानकारी दिए।
नेपालको राजनीतिलाई सही बाटोमा हिँडाउन प्रधानमन्त्रीको रूपमा केपी ओलीलाई अघि सारिएको उनले दाबी गरे। पोखरेलले कांग्रेस नीतिगत रूपमा सामथ्र्य गुमाइसकेको दल भएको ठोकुवा गरे।