शुक्रबार, साउन २२, २०८३

चितवन–१ ‘क’ मा सामाजिक विकास विज्ञ पुरीको उम्मेदवारी घोषणा

३३ वर्षसम्म अन्तर्राष्ट्रिय विकास संस्थामा काम गरेर आर्थिक तथा सामाजिक क्षेत्रमा विज्ञता हासिल गरेका पुरी विकासको स्पष्ट खाकासहित चुनावी मैदानमा उत्रिए।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

चितवन–सामाजिक विकास विज्ञ रमेशचन्द्र पुरीले चितवन क्षेत्र–१ ‘क’ मा उम्मेदवारी दिने भएका छन्। आगामी ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा खैरहनी नगरपालिका वडा–३ सिद्धिपुरका पुरीले कांग्रेसबाट उम्मेदवारी घोषणा गरेका हुन्।

३३ वर्षसम्म अन्तर्राष्ट्रिय विकास संस्थामा काम गरेर आर्थिक तथा सामाजिक क्षेत्रमा विज्ञता हासिल गरेका पुरीले विकासको स्पष्ट खाकासहित चुनावी मैदानमा उत्रिन लागेको नेपाल समयसँग बताए। देश–विदेशमा काम गरेका पुरीसँग शिक्षा, स्वास्थ्य र रोजगार क्षेत्रमा गहिरो अनुभव छ। पुरीले करिब १५ वर्ष सो संस्थाको विभिन्न देशको प्रमुख भएर काम गरेका छन्। 

प्रतिष्ठित संस्थाको जागिर छाडेर आफ्नो गाउँ–ठाउँ र समाजको विकासका लागि गृहनगर फर्किएको उनले बताए। ‘सामाजिक न्यायसहितको समृद्ध समाज निर्माणका लागि गाउँ फर्किएको छु’, उनले भने, ‘काम गर्ने ठाउँ चाहिन्छ। राजनीतिमार्फत समाज सेवा गर्न निर्वाचनमा होमिन लागेको हुँ।’ पछिल्लो समय राजनीतिमा अनुभवी र विज्ञता हासिल गरेका नेताको खोजी भइरहेका बेला पुरीले प्रस्तुत गरेको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

कांग्रेसको १४औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि बनेका पुरी पार्टीको केन्द्रीय स्तरको शुभेच्छुक संघ–संस्था समन्वय विभागका सदस्यसमेत हुन्। स्थानीय तह निर्वाचनमा कांग्रेसको केन्द्रीय घोषणापत्र तथा चितवनमा राप्ती, खैरहनी र रत्ननगरको घोषणापत्र तयार गर्न पुरीले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

पुरीले निर्वाचनमा चयन भए निःशुल्क शिक्षा र त्यसमा गुणात्मक सुधार ल्याई उद्यमशीलतासँग जोड्ने र उत्पादनमुखी बनाउने योजना अगाडि सारेका छन्। यस्तै, निःशुल्क स्वास्थ्योपचार, बेरोजगार युवालाई रोजगार बन्न सहयोग, कृषि, मस्त्य, पशुपालन, उद्योग, पर्यटन क्षेत्रको आय दोब्बर बनाउने, टोल–टोलमा आवश्यक भौतिक पूर्वाधार विकास गर्ने, बस्ती व्यवस्थित र सुरक्षित बनाउने उनको योजना छन्।

प्रकाशित: Aug 29, 2022| 14:23 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...