काठमाडौं– काठमाडौं महानगरले न्युरोडमा रहेको विशाल बजार भवनको नक्सा २४ घन्टाभित्र वडा कार्यालयमा पेस गर्न निर्देशन दिएको छ।
सोमबार महानगरको टोलीले विशाल बजारको स्थलगत अनुगमन गरी बेसमेन्टभित्र सञ्चालित पसल अनधिकृत रहेको र भवनको नक्सासमेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिइएको हो।
विशाल बजार कम्पनीले भने महानगरको टोलीलाई पसल वैधानिक रहेको बताएको छ।
महानगरले न्यूरोडस्थित सुरज आर्केडका बेसमेन्टमा रहेका पसल खाली गर्न २४ घन्टे समय दिएको छ।
सवारी पार्किङका लागि नक्सा पास गरी बनाइएका संरचनामा सटर राखेको पाइएपछि महानगरले खाली गराउन लागेको हो।
पार्किङका लागि नक्सापास भएको सुरज आर्केडको अन्डरग्राउन्डमा सटर राखेर विभिन्न पसल चलाइएको छ।
महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले यसअघि नै पटक–पटक जानकारी गराइसके पनि सोमबार अन्तिम पटक दिनभरका लागि समय दिइएको बताए।
‘हामीले २४ घन्टाको थप समय दिएर पसल खाली गर्न भनेका छौं’, पाण्डेले भने, ‘सुरज आर्केडको अन्डरग्राउन्डभित्रका व्यापारीले समय मागेकाले दिएर आएका छौं। महानगरले दिएको समयसम्म नहटाए हामी हटाउँछौं।’
महानगरले वसन्तपुर प्लाजाको अन्डरग्राउन्ड पनि खाली गराउँदै छ। पार्किङका लागि बनाएको संरचना व्यापारिक प्रयोजनका लागि भाडामा दिएपछि त्यसलाई हटाउन लागिएको महानगरले बताएको छ।
यस्तै, महानगरको टोली वसन्तपुर प्लाजामा पुगेको छ। अनधिकृत संरचना बनाएर भाडामा लगाएको सूचनाका आधारमा महानगरको टोली वसन्तपुर प्लाजा पुगेको हो।
महानगरको टोलीले सोमबार बिहानैदेखि मखन र वसन्तपुर क्षेत्रमा बेसमन्ट खाली गर्न अभियान चलाइरहेको छ। सुरज, अर्केड, चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेसमेन्ट खाली गराउन थालिएको छ।
महानगरले पिनट्स भवनको बेसमेन्टमा रहेका पसल पनि हटाउने भएको छ।