काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन २०६३ को पहिलो संशोधन विधेयक २०७९ प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्देश राष्ट्रियसभाको बैठकमा प्रस्तुत गरिएको छ। राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले आइतबार बसेको बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश प्रस्तुत गरेका हुन्।
सचिव फुयाँलले राष्ट्रपतिले पठाएको विभिन्न कारणसहित विभिन्न बुँदामा सो विधेयक फिर्ता पठाएको पत्र वाचन गरेर सुनाएका छन्। गत साउन ६ गते संघीय संसदबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको थियो।
तर साउन २९ गते राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएकी थिइन्। राष्ट्रपतिले फिर्ता पठाएको सो विधेयक भदौ २ गते प्रतिनिधिसभाको बैठकबाट कुनै परिमार्जन नगरी जस्ताको तस्तै पारित गरिएको छ। सो विधेयकमाथि अब राष्ट्रियसभामा छलफल हुनेछ।