बुटवल- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तहबाट शिक्षा लिँदै आगामी निर्वाचनमा गठबन्धनलाई बलियो बनाउने बताएका छन्। बुटवलमा शनिबार दिउँसो पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै स्थानीय तहमा तालमेल भनेजस्तो नभएको स्वीकार गर्दै प्रतिनिधि र प्रदेसभामा राम्रो गठबन्धन गर्ने बताए।
‘गठबन्धन र तालमेल भन्याजस्तो नभए पनि गठबन्धन र गठबन्धन सरकारकै कारण स्थानीय तह निर्वाचन सफल बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न र संविधानसभा पछिको दोस्रो प्रक्रियामा प्रवेश गराएको छ,’ प्रचण्डले भने, ‘देशलाई ठुलो दुर्घटनाबाट बचाउन गठबन्धनको भूमिका रह्यो।’
प्रचण्डले स्थानीय तह निर्वाचनमा राम्रो हुन नसकेको तालमेलबाट शिक्षा लिएर प्रदेश र संघको निर्वाचन सफल बनाउने दाबी गरे। प्रचण्ड नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्य र जिल्ला इन्चार्जहरुको बैठकलाई सम्बोधन गर्न शनिबार बुटवल आएका हुन्। बैठकमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। प्रधानमन्त्री देउवासँगै प्रचण्ड हेलिकप्टरमा बुटवल आएका हुन्।