नेपालगञ्ज- उपचारका लागि सोमबार भेरी अस्पताल पुगेकी गर्भवतीलाई अस्पतालले बचाउन सकेन। ३२ साताकी गर्भवती आमासँगै जुम्ल्याहा शिशुको पनि अस्पतालमै मृत्यु भयो। अस्पतालले लापरबाही गरेको भन्दै परिवार र आफन्त आन्दोलित बने। सोमबार दिउँसो भेरी अस्पताल नेपालगञ्ज केही समय तनावग्रस्त बन्यो।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ निवासी २२ वर्षीया महिलाको उपचारमा चिकित्सकको लापरवाहीका कारण ज्यान गएको भन्दै मृतकका परिवार र आफन्तले छानविनको माग गरेका छन्। चिकित्सकले महिलाको पेटमा शल्यक्रिया गरेर जुम्ल्याहा शिशु निकालेका थिए। ‘आमाको ज्यान जोगाउन नसकिने अवस्थामा शिशुको ज्यान जोगाउन शल्यक्रिया गर्दा पेटभित्र अक्सिजन अभावले जुम्ल्याहाकै ज्यान गइसकेको थियो,’ भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. बद्री चापागाईंले बताए, ‘यो नहुनुपर्ने घटना हो तर तीनै जनाको ज्यान जोगाउन सकिएन।’
अस्पतालमा चिकित्सकको लापरबाही नभएको डा. चापागाईंले दाबी गरे। उनले सबै कुरा सहज रुपमा अध्ययन गर्न सकिने बताए। 'गर्भवति अस्पतालसम्म आउँदा निक्कै ढिलो भइसकेको थियो, बाहिर पठाउन सक्ने समय समेत थिएन। आमालाई बचाउन नसके पनि शिशु जोगाउने हाम्रो अधिकतम प्रयास भएको हो, तर सकेकोमा हामी पनि दुखी छौँ।'
बाँकेको नेपालगञ्ज सिंगो पश्चिम नेपालको स्वास्थ्य उपचारका लागि हब मानिन्छ। बाँके आफैंमा पनि सुगम जिल्ला हो। यातायातको हिसाबले कुनै त्यस्तो गाउँ छैन जहाँ सडक नपुगेको होस्, सवारीका साधनहरु नपुगेको होस्। तर यही सुगम क्षेत्रका सुत्केरीहरुले अकालमै मृत्युवरण गर्नुपरेका थुप्रै उदाहरण छन्।
छोटो समयको तथ्यांक हेर्दा पनि मातृ शिशु मृत्युदर अत्यासलाग्दो छ। दिगो विकास लक्ष्य हासिल गर्दै सन् २०३० सम्ममा मातृ मृत्युदर प्रति एक लाख ७० मा झार्ने सरकारी लक्ष्य छ। पहाड र हिमाली जिल्लाका दुर्गम भेगका कुरै छाडौं, बाँके जस्तो सुगम मानिने जिल्लामा पनि मातृ मृत्युदर घट्न सकेको छैन। समय समयमा यसबारेमा सरकारी तथा यस क्षेत्रमा काम गर्ने गैरसरकारी निकायले चासो राख्ने गरे पनि यसका कारण र मातृ शिशु मृत्युदर घटाउने विषयमा ठोस कदमहरु चाल्न सकेका छैनन्।
बितेको आर्थिक वर्ष २०७८-७९ को पछिल्लो ६ महिनामा मात्रै १४ सुत्केरीको मृत्यु भएको सरकारी तथ्यांक छ। यो तथ्यांक बाँके जिल्लाको मात्रै हो। आर्थिक वर्षको पछिल्लो ६ महिनामा नेपालगञ्ज उपमहानगरपालिकामा ६, जानकी गाउँपालिकामा तीन, राप्ती सोनारी र नरैनापुरमा दुई–दुई तथा कोहलपुर नगरपालिकामा एक सुत्केरीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका आमा सुरक्षा कार्यक्रम स्रोत व्यक्ति पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले बताइन्।
बाँकेको नेपालगञ्ज सिंगो पश्चिम नेपालको स्वास्थ्य उपचारका लागि हब मानिन्छ। बाँके आफैंमा पनि सुगम जिल्ला हो। यातायातको हिसाबले कुनै त्यस्तो गाउँ छैन जहाँ सडक नपुगेको होस्, सवारीका साधनहरु नपुगेको होस्। तर यही सुगम क्षेत्रका सुत्केरीहरुले अकालमै मृत्युवरण गर्नुपरेका थुप्रै उदाहरण छन्।
सबैभन्दा बढी सुत्केरीको मृत्युदर नेपालगन्ज उपमहानगरपालिकामा रहेको छ। सयौँ स्वास्थ्य क्लिनिक, वडामा रहेका स्वास्थ्य इकाईदेखि देशमै गुणस्तरीय स्वास्थ्य उपचार दिँदै आएको भनिएका अस्पतालहरु रहेको नेपालगञ्जको दुर्दशा आश्चर्यलाग्दो छ। चालू आर्थिक वर्षमा १४ जनामध्ये ६ जना नेपालगन्जकै स्थानीय सुत्केरी हुने क्रममा मृत्यु भएको छ। सुबिधासम्पन्न अस्पताल र चिकित्सकको पहुँच भएर पनि नेपालगन्जमा बढी सुत्केरीको मृत्यु हुनु देशकै लागि चुनौती बनेको छ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेको अध्ययनले अधिकांश महिलाको सुत्केरी भएपश्चात् अस्पतालमै मृत्यु हुने गरेको पाइएको छ। अस्पतालमै मृत्यु हुनेको प्रतिशत ४३ रहेको छ भने बाटोमै २९ प्रतिशत महिलाले ज्यान गुमाइरहेका छन्। बेथा लागिसकेपछि घरबाट अस्पताल, अस्पतालमा बेड नपाएर अर्को अस्पताल गर्दागर्दै २९ प्रतिशत गर्भवती सुत्केरीको बाटोमै मृत्यु हुने गरेको छ। १४ प्रतिशत महिलाहरुको अहिले पनि घरमै असुरक्षित बच्चा जन्माउन खोज्दा मृत्यु भएको श्रेष्ठको भनाइ छ। मृत्यु हुनेमा १९ देखि ३५ वर्ष उमेर समूहका महिला रहेका छन्। जसमा २९ प्रतिशतको अत्यधिक रक्तश्रावले ज्यान जाने गरेको छ भने २१ प्रतिशतको रगतको कमीका कारण मृत्यु भएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक विश्लेषण छ।
बाँकेमा आर्थिक वर्ष २०७५-७६ मा २९ जनाको मृत्यु भएकोमा २०७६-७७ मा ३५ जना गर्भवति तथा सुत्केरीले ज्यान गुमाए। यस्तै आर्थिक वर्ष २०७७-७८ मा ४६ सुत्केरीको ज्यान गएको छ। यो तथ्यांक प्रत्येक वर्ष बढ्दो दरमा छ। बाँके जिल्ला पूर्वाधारले सुगम मानिए पनि शिक्षा र चेतनाको हिसाबले कमजोर छ भन्ने कुरा मातृशिशु मृत्युदरले देखाउने गरेको स्वास्थ्यकर्मीहरु नै बताउने गरेका छन्। 'जिल्लामा अस्पतालहरु छन्, तमाम स्वास्थ्य संस्थाहरु छन्, तर जिल्लामा केही यस्ता समुदाय छन् जहाँ स्वास्थ्य संस्थामा पुगेर उपचार र परामर्श लिनुपर्छ भन्ने चेतना अहिले पनि कम छ,’ वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापाले भनिन्, 'मातृ मृत्युदर बढ्नुमा बालविवाह गर्नु, उमेर नपुग्दै गर्भवती हुनु, पोषणको कमी हुनु लगायतका कारण छन्।’
गम्भीर अवस्थामा पुगेपछि मात्र अस्पतालमा आउने गरेका कारण अधिकांश महिलाको अकालमा मृत्यु हुने गरेको छ। नियमित रूपमा गर्नुपर्ने जाँच नगरी बेथा लागेर अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल पुग्ने गरेका कारण उनीहरूलाई बचाउन गाह्रो हुने भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. चापागाईंले बताए। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार ३४ वटा बर्थिङ सेन्टर, ११ वटा ठूला अस्पताल, तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा सहरी क्लिनिक, दुई वटा सामुदायिक स्वास्थ्य इकाईहरु अहिले पनि सञ्चालन अवस्थामा छन्। आधारभूत स्वास्थ्य केन्द्र २७ वटा, खोप क्लिनिक २ सय ८३ वटा र गाउँघर क्लिनिक एक सय ४४ वटा छन्।
स्थानीय जनप्रतिनिधि, शिक्षा तथा जनचेतना र सबै स्थानमा सहज यातायातको पहुँच हुन सकेमात्र मृत्युदरमा न्यूनीकरण हुन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन्। नियमित गर्भ जाँच नगराउने, खोप नलिने, घरमै सुत्केरी गराउने प्रयास गर्ने र गम्भीर भएपछि मात्र अस्पताल लैजाने, पोषिलो खानेकुरा नखाने जस्ता समस्याहरु जिल्लामा कायमै रहेकाले यस्ता समस्या समाधानका लागि स्थानीय सरकारले बढी प्राथमिकतामा राख्नुपर्ने प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. चापागाईंले बताए।