काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार पुगेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरुलाई गठबन्धनमा सामेल हुन प्रस्ताव गरेका छन्। प्रधानमन्त्री देउवालाई भेट्न लोसपाका शीर्ष नेताहरु आइतबार साँझ बालुवाटार पुगेका हुन्।
बालुवाटार पुगेका लोसपाका नेता राजेन्द्र महतोले आफ्ना मागहरु पूरा भए गठबन्धनमा बस्न तयार भएको बताए। उनले भने, 'हाम्रो मागहरु राखेका छौं। ती मागहरु पूरा भएमा गठबन्धनमा बस्न हामी सकारात्मक नै छौं।'
लोसपाले तराईका नागरिकको नागरिकताको समस्या समाधान गर्नुपर्ने, विभिन्न आन्दोलनका क्रममा झुट्टा मुद्दा लागेका कार्यकर्तालाई रिहा गर्नुपर्नेलगायतका माग राख्दै आएको छ। ती मागमध्ये नागरिकता विधेयक संसद्बाट पारित भइसकेको छ।
नेता महतोले भने, 'नागरिकता विधेयक त प्रतिनिधिसभाबाट पारित भइसकेको छ । हाम्रा नेता, कार्यकर्तामाथि लागेका मुद्दा फिर्ताबारे पनि प्रधानमन्त्रीजी सकारात्मक देखिनुभएको छ ।' सत्तामा सहभागी नभए पनि लोसपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेको छ ।
सत्तारुढ गठबन्धनमा अहिले कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्। जसपाबाट फुटेर बनेको लोसपा र भर्खरै पुनर्गठन भएको बाबुराम भट्टराई र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई पनि गठबन्धनमा सामेल गराउने सत्तापक्षको तयारी छ।