काठमाडौं- भ्रष्टाचारको आरोपमा विभिन्न गाउँपालिकाका १० कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। उनीहरूले करिब २८ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा छुट्टाछुट्टै भ्रष्टाचार मुद्दा दायर गरेको हो।
हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टक दत्त प्याकुरेलसहित इन्जिनियर मकरध्वज शाही, असिस्टेन्ट सव–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारीले गैरकानुनी लाभ लिएको र गाउँपालिकालाई क्षति पुर्याएको आयोगले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आरोपितहरुले आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाको विभिन्न योजनाहरू आफू अनुकूल बनाई २१ लाख ४७ हजार ४९२ रुपैयाँ रकम आर्थिक अनियमितता गरेको उल्लेख गरिएको छ।
यस्तै, मुगुको छायाँनाथ राराको तत्कालीन डिभिजन वन अधिकृत भरतबहादुर बुढथापा, सव–इन्जिनियर गोर सिंह बडुवाल र असिस्टेण्ट सव–इन्जिनियर सिहमाल कुमार मल्ल उपर ६ लाख ३२ हजार ६७७ रुपैयाँ भ्रष्टाचारको आरोप लागेको छ।
आरोपितहरुले वडा नं. ७ मा निर्माण सम्पन्न भनिएको टुजेमीदेखि बाबुकाँधसम्मको पर्यटन पदमार्ग निर्माण गर्ने क्रममा वास्तविकभन्दा नभएको कार्यलाई गैरकानुनी लाभ लिने बदनियतले सो रकम भ्रष्टाचार गरेको आरोप लागेको हो।
यसैगरी, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धर्मेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाहीलाई सुपरीवेक्षकले गरेकोभन्दा बढी कार्य गरेको भनी गैरकानुनी लाभ लिएको आरोप लागेको छ।