काठमाडौं- काठमाडौँ उपत्यकामा आइतबारदेखि 'नो हर्न' कार्यक्रम अभियानका रूपमा अगाडि बढाइएको छ। समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा 'नो हर्न अभियान' पुनः सुरु गरिएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले नो हर्न लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारी साधनमा टासेँर कार्यक्रमको समुद्घाटन गरेका थिए।
नो हर्न अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्ताहरुमा सचेतना फैलाउनका लागि आजबाट पद्मकन्या बहुमुखी क्याम्पसका एक सय जना विद्यार्थीहरू १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन्।
हर्नले ध्वनिप्रदुषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले नो हर्न कार्यक्रमलाई निरन्तरता दिइएको काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले बताए।
उपत्यकामा २०७४ साल वैशाख १ गतेबाट 'नो हर्न' लागू गरिएको थियो। अत्यावश्यकबाहेक अवस्थामा हर्न बजाउन निषेध गरिएको छ।
कार्यक्रम काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, बागबजार स्थित पद्मकन्या बहुमुखी क्याम्पस र धापसी स्थित कान्तिपुर डेन्टल कलेज तथा हस्पिटलले संयुक्त आयोजना गरेको हो। कार्यक्रममा करिब दुई सय जनाको सहभागिता रहेको थियो।