काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माको मातहतमा कुनै पनि कर्मचारी बस्न नचाहेको दाबी गरेका छन्।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले शर्मामाथि गरिएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदन तथ्यमा आधारित नभएपछि उनको मातहतमा अर्थ मन्त्रालयका कुनै पनि कर्मचारी बस्न नचाहेर भागाभागको स्थिति भएको जिकिरसमेत गरे। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको बेला अर्थ मन्त्रालयमा अर्थ सचिव नै भाग्ने अवस्था आएको भन्दै यस्तो अवस्थामा पनि किन प्रधानमन्त्री शेरबहादुर देउवालाई नपोलेको भनि प्रश्न गरे।
कुनै बेला अर्थ मन्त्रालयमा जानका लागि कर्मचारीहरु हानाथाप गर्ने गरेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले अर्थमन्त्री शर्माकै गतिविधिका कारण त्यहाँ कर्मचारी जान नचाहेको बताए।
उपमहासचिव ज्ञवालीले तत्कालीन अर्थमन्त्री शर्मामाथि गरिएको संसदीय छानवीन विशेष समितिको प्रतिवेदन अधुरो र अपुरो रहेकाले त्यसलाई मानेर जान नसकिने पनि स्पष्ट पारे।