धनगढी- लागूऔषधसहित कञ्चनपुरको बेलौरीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
बेलौरी नगरपालिका-६ बैशाखास्थित भारतबाट नेपालतर्फ आउँदै गरेको म१प ३९७८ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोटरसाइकल चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१० बस्ने २४ वर्षीय दीपेन्द्र सिंह बिष्ट र सोही मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय विशाल थापा रहेका छन्।
शनिबार अपराह्न इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी वरिष्ठ हवल्दार दीपक चन्द ठकुरीको कमाण्डमा खटिएको टोलीले उनीहरूको साथबाट १८.४९ ग्राम लागूऔषध (खैरो हेरोइन) बरामद गरेको जनाएको छ।
उनीहरूले मोटरसाइकलको लेग गार्डको बायाँ पट्टी प्वालभित्र सेतो प्लाष्टिकको थैलीमा लुकाई छिपाई राखेको अवस्थामा तीन ओटा पोकामा लागूऔषध बरामद गरिएको प्रहरीको भनाइ छ।
दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले बताए।