मंगलबार, जेठ २६, २०८३

प्रचण्ड, जो जापान पुगेर सफेद झुट बोले!

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई नेपालमा एकपल्ट होइन, दुईपल्ट होइन, तीनपल्टैसम्म भेटेको अप्रमाण प्रसंग कोट्याएपछि दाहालको जिब्रो चिप्लिएको आशंका
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

काठमाडौं– राजनेताहरू बेलाबेला बोल्दा जिब्रो चिप्लाउँछन् भन्ने उदाहरण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देखाएका छन्। 

National life

काठमाडौंबाट पाँच दिने भ्रमणमा शुक्रबार राती जापान हानिएका दाहाल शनिबार बिहान टोकियो पुगिसकेका छन्। दाहाललाई स्वागत गर्न जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीलगायतका अधिकारी नरिता अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। दाहाललाई जापान भ्रमणमा निम्तो दिएको जनप्रगतिशील मञ्च, जापानका पदाधिकारी र प्रवासी नेपालीबाट पनि उनले स्वागत पाए। 

दाहालले विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानी गर्दै आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्धमा विशेष सहयोग पुग्ने दाबी गर्न भ्याए। 

छोरी गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल, सूर्य किरणलाई सँगै लिएर जापान गएका दाहालले शनिबार (आज) जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिबलको उद्घाटन गर्ने कार्यक्रम छ।

यी त भए दाहालको जापान भ्रमणका नियमित कार्यतालिका।

Shivam cement

तर दाहालले नरिता अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग सफेद झुट बोलेको विषयले भने सामाजिक सञ्जाल उछालिएका छन्। 

दाहालले सञ्चारकर्मीसँगकै कुराकानीमा जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई नेपालमा एकपल्ट होइन, दुईपल्ट होइन, तीनपल्टैसम्म भेटेको प्रसंग कोट्याए। तर आबेले अहिलेसम्म नेपाल भ्रमण गरेको कतै देखिएको छैन। राजनीतिमा शकुनी चाल ठीकै भए पनि बोल्दा विचार पु¥याउनुपर्छ भन्ने हेक्का दाहालले बिर्सिदिए। 

दाहालले आबेसँग आफ्नो सम्बन्ध राम्रो भएको दाबी गरे। पूर्वप्रधानमन्त्रीका रूपमा आबे नेपाल भ्रमणमा आउँदा आफूसँग २÷३ पटक कुराकानी भएको ‘सपना’ उनले बेलिविस्तार लगाए। तर आबे मारिएपछि उनीसँग भेट्ने इच्छा पूरा नभएको उल्लेख गर्दै दाहालले अगाडि भने, ‘म जापान आउने तय भएसँगै पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग भेट्न समय मिलाउन खोजेको थिएँ। काठमाडौंस्थित नेपालका लागि जापानी राजदूतसँग पनि कुरा भएकै थियो। उहाँ (आबे) पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा मसँग २÷३ पटक कुराकानी भएको थियो। असाध्यै राम्रो सम्बन्ध थियो, हामीबीच।’ 

गत ८ जुलाईमा चुनावी सभालाई सम्बोधन गरिरहेकै बेला एक बन्दुकधारीले गोली हानेर आबेको हत्या गरेका थिए।

दुईपल्ट जापानका प्रधानमन्त्री भएका आबे नेपाल भ्रमणमा भने नआएको काठमाडौंस्थित जापानी दूतावासले बताएको छ। दूतावासका अनुसार अहिलेसम्म जापानबाट एकपल्ट मात्र बहालवाला प्रधानमन्त्री नेपाल भ्रमणमा आएका छन्। 

सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरी नेपाल भ्रमणमा आएका थिए। आबे प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमणमा आएको कहीँ–कतै नदेखिएको पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले समेत पुष्टि गरे। भट्टराईका अनुसार आबेका हजुरबा र भाइ भने नेपाल आएका थिए।

पूर्वपरराष्ट्र सचिव भट्टराईका अनुसार आबेका मावली हजुरबा नोबुसुके किसी पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमणमा आएका थिए। त्यस्तै आबेका भाइ नोबुओ किसीले सन् २०१६ मा विदेश तथा रक्षा राज्यमन्त्रीका रूपमा नेपाल भ्रमण गरेका थिए।

नेपाल आउँदै नआएका उनै आबेलाई पूर्वप्रधानमन्त्री दाहालले कसरी भेटे होलान्? 

नेताहरूले जनतालाई मूर्ख बनाउने कला स्वदेश मात्रै नभएर विदेशमा समेत मञ्चन गर्छन् भन्ने अकाट्य प्रमाण हो, दाहाल बोली। अनि, यस्तै–यस्तै नेतालाई प्रधानमन्त्री बनाउने जनता, यिनलाई देशका नेता मान्ने कार्यकर्ता, सांसद, मन्त्री, सभासद्, बुद्धिजीवी, लेखक, प्राध्यापक, कलाकार, पत्रकार, वकिल, कर्मचारी सबै यही कोटरीभित्र बसिरहेका छौं, हामी।

प्रकाशित: Aug 06, 2022| 14:56 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...