चितवन–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरूबीच तालमेल आवश्यक भएको बताएका छन्। शनिबार सञ्चारकर्मीसँग चितवनमा कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए।
‘सरकार पनि गठबन्धनको छ। गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ,’ उनले भने। तालमेल गरेर निर्वाचनमा जाँदा कांग्रेसले १०० सिट पाउनुपर्ने उनको जिकिर छ। तालमेलमा के हुन्छ भन्ने कुरा अहिल्यै ठोकुवा गर्न नसकिने भन्दै उनले थपे, ‘एमालेसँग प्रतिस्पर्धा गर्न सबै एक हुनुपर्यो।’
अहिलेको परिस्थितिमा सबै दल कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउने उनको भनाइ थियो। संविधान र एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध एक भएका दलहरू एक ठाउँ भएर निर्वाचनमा जाँदा राम्रो हुने कोइरालाले सुनाए।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई कसरी बलियो बनाउने भन्ने विषयमा सोच्ने समय आएको बताए। ‘टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउनेसम्मको मार्गचित्र अहिलेदेखि नै बनाउनुपर्छ,’ उनले भने।
देशलाई स्थिर सरकार दिन पनि कांग्रेस पदाधिकारी जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने उनको धारणा छ। पौडेलले कांग्रेसका भ्रातृ संस्थाहरूले साउनभित्रै पूर्णता पाउने दाबी गरे। तत्काल निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुनु परेकाले निर्वाचनपछि भ्रातृ संस्थाहरूको अधिवेशन हुने उनले बताए।
‘भातृ संस्थाहरूले पूर्णता पाउँछन् अनि निर्वाचनमा जान्छन्। भ्रातृ संस्थाको अधिवेशन निर्वाचनपछि मात्रै होला,’ उनले भने।–रासस