काठमाडौं– जिल्ला प्रशासन कार्यालय गुल्मी मुलुकभरका जिल्ला प्रशासन कार्यालयमध्ये सर्वोत्कृष्ट भएको छ। गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा गत वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपल्ट ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालयमा सर्वोत्कृष्ट हुन सफल भएको हो।
मूल्यांकन समितिका संयोजक प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको अध्ययन प्रतिवेदनअनुसार कार्य सम्पादन मूल्यांकनमा गुल्मीलाई देशैभरिका जिल्ला प्रशासन कार्यालय मध्ये सर्वोत्कृष्ट घोषणा गरिएको हो।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसँग गरेको कार्यसम्पादन सम्झौताको आधारमा कार्यान्वयन अवस्थाको मूल्यांकन गरेर वर्षैपिच्छे मन्त्रालयले नतिजा सार्वजनिक गर्दै आएको छ।
समितिले शान्ति–सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण र विकास निर्माणमा समन्वय तथा आर्थिक प्रशासनसमेत गरी ६८ वटा परिसूचक मूल्यांकनलाई आधार मानी प्रत्येक वर्ष प्रतिवेदन तयार गर्दै आएको छ।
९७ प्रतिशत अंकसहित अर्घाखाँची प्रशासन दोस्रो, नवलपरासीपूर्व प्रशासन ९६.७५ प्रतिशतसहित तेस्रो स्थानमा रहन सफल भएका छन्। यस्तै, रुकुम पश्चिम प्रशासन ९६.५ सहित चौथो नम्बरमा परेको छ। हुम्ला जिल्ला प्रशासन पाँचौं नम्बरमा पर्न सफल भएको छ भने समान ९५ प्रतिशत अंक ल्याउँदै डडेल्धुरा पाचौं स्थानमा रहन सफल भएको गृहले जनाएको छ।