काठमाडौं– सरकारले बिहीबार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते आइतबार एकै चरणमा गर्ने गरी चुनाव घोषणा गरेको हो।
बुधबारमात्र सत्तारूढ पाँचदलीय गठबन्धनले आगामी मंसिर ४ गते संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो। सोहीअनुसार निर्वाचन गराउन आफू तयार रहेको निर्वाचन आयोगले बताएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको बताएका छन्।
मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको चुनावका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया पनि सुरु गर्ने भएको छ। यसरी निर्वाचनमा देश होमिँदा राजनीतिक दलहरु उत्साहित देखिएका छन्। साथै निर्वाचनको लागि आफूहरु तयारी अवस्थामा रहेको नेताहरुले बताउन थालेका छन्।
नेकपा एमालेले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गरेको छ। पत्रकारहरुसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको लागि तोकिएको मिति स्वाभाविक रहेको टिप्पणी गरेका छन्। चुनावको लागि प्रतिस्पर्धा गर्न एमाले तयारी अवस्थामा रहेको पनि ओलीले बताएका छन्। चुनाव निष्पक्ष र भयरहित वातावरणमा हुनुपर्ने ओलीको माग छ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले पनि चुनावको मिति घोषणा लगत्तै एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसियत नेपालका कुनै राजनीतिक दलसँग नरहेको टिप्पणी गरेका छन्। उनले भने, ‘अरुले पार्टीका रुपमा चुनाव लडेनन्। कांग्रेसले ललितपुरमा लड्यो? चिरिबाबु कांग्रेसका होइनन् र भन्नुहोला। तर म भन्छु, कांग्रेसले ललितपुरमा लडेन। ७७ वटै जिल्ला र ७५३ पालिकामा कांग्रेसले लडेन। यो कुरा हामीले जनतालाई बताउन सक्छौं कि सक्दैनौं?’
त्यस्तै नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले पनि मंसिर ४ मा हुने चुनावमा भिड्न आफू तयार रहेको बताएका छन्। यसअघि ७० वर्ष उमेर पुगेपछि राजनीति छोड्ने बताउँदै आएका उनले परिस्थितिका कारण पुन: उम्मेदवारी दिनुपरेको बताए। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘७० वर्षमै छोडौं कि भनेको परिस्थितिले दिएन। आजमात्रै चुनाव घोषणा भएको छ। चुनाव त लड्नैपर्छ, जित्नैपर्छ।’
चुनावमा नउठ्ने हो भने माधव नेपाल डरायो भनेर आलोचकहरुले उडाउने भएकोले पनि आफू चुनावी मैदानमा होमिने उनले बताए। यसरी गठबन्धनका अन्य दलहरु पनि उत्साही देखिन्छन्। बुधबारमात्र गठबन्धनका दलको सहमतिपछि चुनावको मिति टुंगो लागेको थियो।
थपिए साढे चार लाख मतदाता
गत वैशाख ३० गते भएको स्थानीय तह चुनावयता करिब साढे चार लाख मतदाता थपिएका छन्। निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार वैशाख ३० को स्थानीय निर्वाचनपछि आजसम्म ४ लाख ४८ हजार ५१६ मतदाता थपिएका छन्।
२०७४ सालको संघीय र प्रदेश सभा निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ मतदाता रहेकोमा गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको अन्तिम नामावलीमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता थिए। जुन अहिले बढेर १ करोड ८१ लाख ८२ हजार २३९ पुगेको हो।
अर्यालका अनुसार असारयता आफ्नै जिल्लामा मतदाता नामावली लेखाउने मतदाता ४ लाख १२ हजार ७६६ छन् भने अनलाइनबाट फर्म भर्नेहरु ३५ हजार ७५० जना छन्। पछिल्लो समय ४ लाख ४८ हजार ५१६ मतदाता थपिएका छन्। पछिल्लो २–३ दिन यताको अद्यावधिक विवरण नआएकाले त्यो संख्या ५ लाखसम्म पुग्नसक्ने पनि उनले बताएका छन्।
स्थानीय तह निर्वाचनपछि गत असार १ गतेयता फेरि आयोगले मतदाता परिचयपत्र दिन थालेको थियो।