मंगलबार, जेठ २६, २०८३

निर्वाचन घोषणासँगै यस्ता छन् आयोगले गर्नुपर्ने काम

निर्वाचन आयोगले १ महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो। तर, सरकारले १०७ दिनको अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं– सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते आइतबार एकै चरणमा गर्ने गरी चुनाव घोषणा गरेको हो। 

National life

बुधबार सत्तारूढ पाँचदलीय गठबन्धनले आगामी मंसिर ४ गते संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो। निर्वाचन आयोगले भने मंसिर २ मा निर्वाचन गर्न सिफारिस गरेको थियो। 

निर्वाचन आयोगले १ महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो। तर, सरकारले १०७ दिनको  अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो। 

आगामी मंसिर १० गते यो प्रतिनिधिसभाको कार्यकाल सकिँदैछ। प्रतिनिधिसभाको कार्यकाल सकिनुअघि निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ।

प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा (मंसिर १० र २१ गते) भएको थियो। 

Shivam cement

सरकारले मिति घोषणा गरेसँगै निर्वाचन आयोगले दल दर्ता, उम्मेदवारीदेखि मतदानसम्मका कार्यक्रमको तयारी अघि बढाएको छ। त्यसो त आयोगले निर्वाचनको तयारी आफ्नो हिसाबले गरिरहेकै थियो। मिति घोषणा भएपछि अझ तिव्रताका साथ कार्यतालिका बनाएरै तयारी गरिने आयोगले जनाएको छ। 

मन्त्रिपरिषद्ले मिति घोषणा गरेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्वाचन आयोगलाई औपचारिक पत्र पठाउँछ। त्यसपछि आयोगले पनि औपचारिक काम थाल्छ।

मिति घोषणा भएको पत्र पाउनासाथ निर्वाचन आयोगले देशभर चलिरहेको मतदाता नामावली संकलनको काम स्थगित गर्छ।  मतदाता नामावली संकलन भोलि शुक्रबारदेखि नै बन्द हुने आयोगले बताएको छ। नामावली संकलन रोकेर आयोगले करिब ४० दिनमा अन्तिम मतदाता नामावली प्रकाशन गर्छ। 

अर्को महत्वपूर्ण काम हो मतदानस्थल र केन्द्र निर्धारण। अघिल्लो निर्वाचनका क्रममा मतदानस्थल तथा मतदान केन्द्रका बारेमा केही त्रुटी फेला परेका थिए। केही ठाउँमा ३–४ घण्टा हिँडेर पनि मतदात केन्द्रमा पुग्न नसकिएको गुनासो आएको थियो भने कतिपय ठाउँमा आवश्यकताभन्दा बढी मतदान केन्द्र थिए। यसपटक मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन गरिने भएको छ। मतदानस्थ सिफारिसको काम हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने समितिले गर्छ। निर्वाचन आयोगले स्थानीय निर्वाचनको तुलनामा केही ठाउँमा मतदानस्थल र केन्द्र थप्ने तयारी गरेको छ।

चुनाव घोषणा भएपछि आयोगले दल दर्ताको लागि आवेदन खोल्छ। दल दर्ताको काम आगामी आइतबारदेखि नै सुरु गर्ने आयोगको तयारी छ। निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरुले निर्वाचन प्रयोजनका लागि फेरि आयोगमा दर्ता हुनुपर्ने व्यवस्था छ। दर्ता नभएका दल निर्वाचनमा भाग लिन पाउँदैनन्। आयोगले समानुपातिक निर्वाचनका लागि समेत दलहरुलाई आह्वान गर्छ। त्यसरी दर्ता भएका दलहरुको निर्वाचन चिन्हमात्रै समानुपातिकतर्फको मतदाता नामावलीमा प्रकाशित हुन्छ।

समानुपातिकका लागि उम्मेदवारको बन्दसूची तयार गर्नुपर्ने हुन्छ। दल दर्ताको काम सकिएलगत्तै राजनीतिक दलहरुलाई समानुपातिकतर्फका उम्मेदवारको सूची बुझाउन आयोगले सूचना जारी गर्छ। दलहरुले त्यसका लागि करिब दुई साताको अवधि पाउनेछन्। समानुपातिकको सूची बुझाएपछि त्यसमा दाबीविरोध, छानबिन र अरु काम गरेर आयोगले अन्तिम नामावली प्रकाशित गर्छ।

समानुपातिकपछि प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनदेखि अन्तिम नामावली प्रकाशनसम्मको काम हुन्छ। यसका लागि करिब १ साताको समय  लाग्छ। कात्तिक पहिलो सातादेखि उम्मेदवारहरुले निर्वाचनको प्रचारप्रसार गर्न पाउनेगरी कार्यतालिका बनाउने आयोगको योजना छ। मंसिर लागेपछि मौन अवधि सुरु हुनेछ।

उम्मेदवार टुंगिएपछि मतपत्र छपाइदेखि ढुवानीसम्मको काम हुन्छ। यसपटकको चुनावमा करिब १ करोड ८० लाख मतदाता पुग्ने अनुमान छ। निर्वाचन आयोगले त्यसमा थप केही मतपत्र जगेडा राख्नुपर्ने भएकाले करिब दुई करोड मतपत्र छाप्नुपर्छ। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि चार प्रकारको गरेर  ८ करोड मतपत्र छाप्नुपर्ने हुन्छ। 

निर्वाचन आयोगले यो अवधिमा निर्वाचनमा हुने खर्चको आर्थिक कार्यविधि बनाउनेदेखि अरु आवश्यक निर्देशिकाहरु तयार गर्छ। निर्वाचनमा खटिने जनशक्तिको खाका तयार गर्छ। निर्वाचन सामग्री खरिददेखि वितरणसम्मका काम हुन्छन्। कर्मचारीहरु मतदान केन्द्र तथा मतदानस्थलमा पुगेर आवश्यक तयारी गरेपछि मंसिर ४ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।  

प्रकाशित: Aug 04, 2022| 15:28 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...