काठमाडौं- हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा बुधबार राति कपनबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले कपनको भृकुटी चोकबाट एक जनालाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी प्रभाग कपन र प्रहरी वृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले गोरखा घर भई हाल काठमाडौं तीनचुली बस्ने २४ वर्षीय धावा घ्याल्चेनलाई पक्राउ गरेको हो।
भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको ३२ लाख र घ्याल्जेनको कोठमा समेत जाँच गर्दा १७ लाख ५० हजार गरी ४९ लाख ५० हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
घ्याल्चेनले नातामा काका पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र उनले उताबाट पैसा पठाउने गरेको प्रारम्भिक बयान प्रहरीलाई दिएका छन्।
सो रकम हुण्डीमा प्रयोग हुने गरेको आशंका रहेको जनाउँदै प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।