चितवन- भरतपुर महानगरपालिका-१ नारायणगढको लिलाचोकबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनको गस्ती टोलीले बिहीबार बिहान लिलाचोकस्थित सडकमा शंकास्पद रुपमा उभिइरहेका दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१ बस्ने २५ वर्षीय विष्णु केसी र भरतपुर महानगरपालिका-२ बस्ने २७ वर्षीय आशिष चौधरी रहेका छन्।
उनीहरूको साथमा रहेको निलो रङको फाइबरको झोलामा लुकाइछिपाई ल्याएको लागूऔषध डाइजेपाम ७१ एम्पुल, प्रोमोताइजेन ७५ एम्पुल र नफिम ७१ एम्पुल गरी जम्मा २१७ एम्पुल फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुई जनालाई जिल्ला अदालत चितवनबाट लागूऔषध मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।