एडेन- यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र हुथी लडाकू (मिलिसिया) ले युद्धग्रस्त अरब देशमा जारी राष्ट्रव्यापी युद्धविरामको समय थप गरिएकोमा विश्व समुदायले स्वागत गरेको छ।
यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुण्डबर्गले मंगलबार यमनमा युद्धविरामको समय थप दुई महिना लम्बाइएको घोषणा गरेका थिए। 'यमनी युद्धरत पक्षहरूले अगष्ट २ देखि अक्टोवर २ सम्म थप दुई महिनाका लागि सोही शर्तअनुसार यो सहमति जनाएका छन्,' मंगलबा ग्रुण्डबर्र्गले जारी गरेको वक्तव्यमा भनिएको छ।
उक्त घोषणापछि, एडेनमा रहेको यमन सरकारले युद्धविराम सम्झौता विस्तारलाई स्वागत गरेको थियो। 'यस युद्धको प्रमुख उद्देश्य हुथी मिलिशियाद्वारा सुरु भएको युद्धका कारण भएको रक्तपात रोक्नु, नागरिकहरूको स्वतन्त्रता कायम गर्नु र यमनभरि सामान तथा मानवीय सेवाहरू ओसारपसार गर्नु हो,' यमन सरकारले मंगलबार विदेश मन्त्रालयको वेबसाइटमा पोस्ट गरिएको विज्ञप्तिमा उल्लेख छ।
सरकारले सम्झौताको पूर्ण कार्यान्वयनलाई ध्यान दिने बताएको छ।
त्यसैगरी, हुथी वार्ता प्रतिनिधिमण्डलका प्रमुख मोहम्मद अब्दुल–सलामले आफ्नो ट्वीटर अकाउन्टमा लखेका छन्, 'ओमानको सुल्तानेटमा लामो प्रयासपछि सम्झौता नवीकरण गरिएको छ।'
उनले थपे, 'संयुक्त राष्ट्रसंघले पारिश्रमिक दिने, विमानस्थल र बन्दरगाह खोल्ने र नाकाबन्दीको अन्त्य गर्ने विषयमा संयुक्त राष्ट्रसंघको सघन कार्यको महत्वलाई हामी दोहो¥याएका छौँ, किनकि मानवीय मुद्दाहरु यमनी जनताको प्राकृतिक अधिकार हो।'
संयुक्त राष्ट्रसंघले मध्यस्थता भएको यो युद्धविराम सम्झौता गत अप्रिल २ मा लागू भएको थियो भने मङ्गलबार सकिँदै थियो।