कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका व्यावसायिक तरकारी खेतीमा संलग्न किसानले बाँदरका कारण हैरानी खेप्नुपरेको छ। बारीमा लगाएको तरकारी बाँदरले खाइदिन थालेपछि किसान मारमा परेका हुन्।
लौका, काँक्रा, बोडी, करेलालगायतका तरकारी बाँदरले नोक्सान गर्दैआएका छन्। ‘गाउँ नजिकैको कालिका सामुदायिक वन क्षेत्रबाट आउने बाँदरको हुलले बारीमा फलेका तरकारी केही बाँकी राख्दैनन्’, स्थानीय तेजबहादुर चौधरीले भने, ‘असारयता किसानको लाखौँ मूल्यको तरकारी बाँदरले खाइसेको छ।’
चौधरीको मात्रै बाँदरले ३५ हजार मूल्य बढीको तरकारी नोक्सानी गरेको छ। अर्का व्यावसायिक तरकारी खेतीमा संलग्न किसान वीरेन्द्र चौधरीको रु २० हजार बराबरको तरकारी बाँदरले खाइदिए। दैनिक बाँदरको हुल गाउँमा पस्ने गरेको छ।
स्थानीयवासीले भगाउँदा सामुदायिक वनका नजिकका रुखमा बस्ने र तरकारी बारीमा कोही नभएको बेला हुलका हुल आएर एकैपटक पूरै बारीको तरकारी खाने र तोडेर लैजाने गरेको स्थानीय चन्द्रबहादुर चौधरीले बताए।
बजारमा बेच्नका लागि तयार भएको मकैसमेत बाँदरले बाँकी नराखेको उनले बताए। बेलडाँडी गाउँका अधिकांश किसान तरकारी खेतीमा संलग्न छन्। बाँदरको हुल नै बारीमै पसरेर तरकारी नोक्सानी गर्न थालेको छ। बाँदर नियन्त्रणका लागि स्थानीय किसानले माग गरेका छन्।