काठमाडौं- आरक्षित सिट लागू नगर्ने १९ सार्वजनिक गाडी कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको विभिन्न स्थानमा ती सवारी साधनलाई कारबाही गरेको हो।
सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सिट लागु भए/नभएको अनुगमन गरी कारबाही गरेका हुन्।
उपत्यका बाहिर चल्ने ४ वटा यात्रुबाहक बस, उपत्यकामा चल्ने १४ वटा यात्रुवाहक बस र १ वटा माईक्रो बसलाई नियम बमोजिम कारवाही गरिएको कार्यालयले जानकारी दिएको छ।
उक्त चेकजाँच अभियानलाई निरन्तर सञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। सार्वजनिक सवारीले सिट क्षमताअनुसार महिला, ज्येष्ठ नागरिक र अपांगहरूलाई सिट आरक्षित गर्नुपर्ने व्यवस्था छ।