काठमाडौं– सांसद रेनुका गुरुङले पूर्व राज्यमन्त्री सरह आजीवन सुरक्षा माग गरेकी छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा उनले आफू संघीय सांसद र कार्यपालिकाको सदस्य भइसकेको भन्दै सुरक्षा माग गरेकी हुन्।
सांसद गुरुङले भनिन्, ‘मैले आफ्नो जीवनभरि देशलाई शीरमा राखेर सेवा गरेको छु। देशको सेवा गरेबापत मानसम्मान र प्रमाणपत्रको थुप्रो छ घरमा। देशलाई माया गरेको मन नपराउने देशद्रोहीले हिजो राति मेरो घरको गेटभित्र बम पड्काए। घरका सबै आतंकित भए। झ्याल खोलेर हेर्दा दुईजना पुरुष मोटरसाइकलमा गएको देखें। अँध्यारो भएकोले चिन्न सकिन। महाराजगन्ज चौकीमा फोन गरेर जानकारी गराएँ। गृहमन्त्रीलाई फोन गर्दा उठेन। प्रहरी आएपछि कम्पाउन्डभित्र सकेट बमको खोल भेटियो।’
सांसद गुरुङले आफू असुरक्षित भएकोले आफ्नो र घरपरिवारको सुरक्षार्थ पूर्वराज्यमन्त्रीले पाउने पीएसओ (व्यक्तिगत सुरक्षाकर्मी) को सुविधा आजीवन पाउनुपर्ने माग सभामुखमार्फत गृहमन्त्री र सरकारसँग गरेकी छन्।