बाँके- बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेको समय आत्महत्या गरेका व्यक्तिलाई कोहलपुर नगरपालिकाले किरिया खर्चका नाममा विपद् व्यवस्थापन कोषबाट आर्थिक सहयोग गरेको छ। कोहलपुर नगरपालिका–१२ का ४६ वर्षीय कृष्णलाल कुँवरले बलात्कारको आरोपमा हिरासतभित्रै शौचालयमा ११ जेठ २०७९ मा आत्महत्या गरेका थिए। उनलाई कोहलपुर नगरपालिकाको कार्यपालिका बैठकले निर्णय नै गरेर कोषबाट ५० हजार रुपैयाँ किरिया खर्च सहयोग गरेको हो।
कुँवर ७ वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १९ वैशाख २०७९ मा पक्राउ परेका थिए। हिरासतभित्रै आत्महत्या गरेका उनको किरिया खर्चका लागि कोषबाट नियम विपरीत सहयोग गरेकामा जनप्रतिनिधिले विरोध जनाएका छन्।
जेठ २८ मा बसेको कोहलपुर नगर कार्यपालिका बैठकले कुँवरको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए।
कुँवरको आत्महत्यापछि सम्भावित भीडबाट हुन सक्ने दुर्घटना रोक्न वार्तामा पीडितलाई सहयोग गर्ने सामान्य सहमति भएको र मानवीय संवेदनाको विषय पनि भएकाले कार्यपालिका सबै सदस्यले निर्णय गरेको उनले दाबी गरे। ‘हामीले कुनै स्वार्थ नराखी राहत दिने निर्णय गरेका हौं। समाजमा नकारात्मक प्रभाव पर्ला भन्ने भएन। कार्यपालिकाले ठीक छ दिने भनेपछि निर्णय भएको हो,’ नगर प्रमुख आचार्यले भने, ’अहिले विषयान्तर बनाउन खोजिएको छ।’
बलात्कारका आरोपित मृतक कुँवर नेपाली कांग्रेसका सक्रिय सदस्य रहेको र उनको आर्थिक अवस्था कमजोर भएका कारण सहयोग गरिएको केही जनप्रतिनिधिको दाबी छ। मृतक कुँवरकै आफन्त वडाध्यक्ष कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि भएका कारण उनकै प्रस्तावमा नियमत विपरीत रकम बाँडिएको पाइएको छ।
कांग्रेस कोहलपुर सभापतिसमेत रहेका वीरेन्द्रबहादुर शाहले यो निर्णयमा आफ्नो कुनै सक्रियता नभएको दाबी गरे। यो निर्णयमा एमालेसहितका राजनीतिक दलको समेत सहमति भएकाले विरोध गर्नुको कुनै अर्थ नभएको उनको भनाइ छ।
ऐनअनुसार आत्महत्या कुनै पनि अर्थमा विपद्को प्रभाव तथा असर मानिँदैन। करणीजस्तो गम्भीर आरोपमा पक्राउ परेर आत्महत्या गरेका व्यक्तिलाई विपद् कोषबाट आर्थिक सहयोग हुने निर्णय ऐनसँग बाझिन्छ।