विराटनगर- सुनसरी धरानका मेयर हर्क साम्पाङ सार्वजनिक शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा पुगेका छन्।
स्थानीय बराह सहकारी पीडित संघर्ष समितिका दुई जना विरुद्ध मेयर साम्पाङले सोमबार प्रहरीमा किटानी जाहेरी दिएका छन्। आइतबार बराह पीडित संघर्ष समितिको नेतृत्वको भिडले कार्यालयमा तोडफोड गरेको भन्दै धरान-१५ का खगेन्द्र नेपाली र धरान-१६ का प्रदीप बास्तोला विरुद्ध उनले धरान प्रहरीमा किटानी जाहेरी दिएका हुन्।
स्थानीय सरकारले बराह सहकारी पीडितहरूको समस्यामा साथ नदिएको र पीडितको कुरा नसुनेको भन्दै आइतबार बराह सहकारी पीडितहरूले धरान उपमहानगरपालिका घेराउ गरेका थिए। सो क्रममा मेयर साम्पाङले पीडितहरूलाई मलाई सोधेर बराहमा पैसा राखेको हो र? भन्दै गैर जिम्मेवार कुरा गरेपछि आक्रोशित भिडले मेयरको कार्यकक्षको झ्यालको सिसा तोडफोड गरेका थिए।
कसरी भयो तोडफोड?
साउने झरीको प्रवाह नगरी बचतकर्ता र सेयर धनीहरूसहित करिब तीन सय व्यक्तिहरू आइतबार बिहान १० नबज्दै धरान उपमहानगर कार्यालय परिसरमा पुगे।

पानीमा रुझ्दै छाता र प्ले कार्ड बोकेर उनीहरू नगरपालिका पुग्दा मेयर साम्पाङलाई भेटेनन्। उनीहरूले उपप्रमुखलाई पनि भेट्न पाएनन्। दिउँसो २ बजिसक्दा पनि दुवै जना उपस्थित नभएपछि नगर परिसर मात्रै हैन भित्री कार्यालय समेत अशान्त बन्दै गयो।
झन्डै तीन बजेतिर मेयर आए। तर, आन्दोलनरत पक्षको मागलाई वेवास्ता मात्रै गरेनन् गैर जिम्मेवार अभिव्यक्ति दिए। उनले पीडितको समस्या समाधानमा लाग्ने भन्दा पनि मलाई सोधेर बराहमा पैसा राखेको हो? भन्ने अभिव्यक्तिले आगोमा घिउ थप्ने काम गरेको थियो।
आन्दोलनरत भिडले त्यसपछि मेयर विरुद्ध नाराबाजी मात्रै गरेनन् उनको कार्यकक्षको सिसाको झ्याल समेत फुटाइदिए। भिड अनियन्त्रित हुँदा नियन्त्रणमा लिनका लागि आन्दोलनकारीलाई लाठीचार्ज समेत गर्नुपरेको थियो।
बराहको सम्पत्ति रोक्का गर्न पत्राचार
धरान उपमहानगरपालिकाले सोमबार बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्पूर्ण सम्पत्ति रोक्का गर्न माग गर्दै सम्बन्धित निकायलाई पत्राचार गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताए।
बराहको सम्पत्ति रोक्का गर्नका लागि नेपाल राष्ट्र बैक केन्द्रीय कार्यालय बालुवाटार, जिल्ला प्रशासन कार्यालय सुनसरी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सिंहदरबार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबार, सहकारी बैक केन्द्रीय कार्यालय, जिल्ला सहकारी संघ सुनसरी, बचत तथा ऋण सहकारी संघ इटहरी, बचत तथा ऋण सहकारी केन्द्रीय संघ, सहकारी बैक शाखा कार्यालय धरान, सम्पत्ति सुद्धिकरण विभाग पुलचोक ललितपुर र केन्द्रीय अनुसन्धान काठमाडौंलाई पत्राचार गरेको खतिवडाले बताए।
बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताहरूको रकम फिर्ता नदिएको भन्दै बराह सहकारी पीडित संघर्ष समिति नै गठन गरेर आन्दोलन गर्दै आएका छन्।